विप्लव वार्तामा बस्न तयार : प्रतिबन्ध हटाउने सरकारको तयारी



झापा- प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले वार्तामा बस्न आफूहरु तयार रहेको जनाएको छ । शनिबार विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको माओवादीले वार्तामा बस्न सकिने जनाउ दिएको हो ।

महासचिव विप्लवले समुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको जनाएका छन् ।

सरकारले प्रतिबन्ध लगाउँदै खुल्ला गतिविधि गर्न रोक लगाएपछि विप्लव नेतृत्वको नेकपा माओवादी लामो समयदेखि भूमिगत छ । सरकारले वार्ताका लागि आव्हान गर्दै आएको भएपनि कतिपय शर्तका कारण वार्ताको वातावरण बन्न सकिरहेको छैन ।

नेकपा भित्रको विवादका कारण सत्ता संकटको सामना गर्नुपरेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने संकेत गरेका छन् ।

शनिबार विराटनगरमा आयोजित विरोधसभामा प्रधानमन्त्री ओलीले आन्दोलनरत सबै शक्ति र दलहरूसँग वार्ता र संवाद गर्ने जनाउँदै विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने संकेत गरेका हुन् ।