प्रधानमन्त्री ओलीको धम्की : संसद विघटनको निर्णय सदर नभए देशैभर आन्दोलन



विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय सदर नभए देशभर आन्दोलन हुने धम्की दिएका छन् । आज विराटनगरमा आफू निकटका कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना भए देशभर आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘कुनै प्रकारको षड्यन्त्र र सेटिङ भएर देश र जनताको बिपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि अगाडि बढ्छ ।’ प्रधानमन्त्री ओलीले सेटिङमा संसद् पुनःस्थापना भए आन्दोलनमार्फत त्यस्ता शक्तिलाई पराजित गरेर देखाइदिने चेतावनी पनि दिएका छन् ।

उनले देशभर भइरहेको सभालाई सर्वोच्च अदालतले पनि हेरेको होला भन्दै यस्ता सभाहरुबाट जनताको अभिमत प्रकट भइरहेको बताएका छन् । उनले संविधानको मम र भावना हेरेर अदालतले फैसला दिनु पर्ने बताउँदै भने, ‘ अदालतले मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’