जयेन्द्रप्रसाद प्रसाई साहित्य कोषद्वारा साहित्यकार र पत्रकार पुरस्कृत




झापा–जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले शनिवार एक पत्रकारसहित तीनजनालाई पुरस्कृत गरेको छ ।

कोषले २०७६ मा प्रकाशित कृतिमध्ये वर्षोत्कृष्ट अस्वत्थामा कृतिका लेखक कुमार भट्टराईलाई पुरस्कृत गरेको हो । विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवाबाट शिक्षासेवी मोहन भण्डारी पुरस्कृत भएका छन् ।

धनमाया सक्रिय महिला वर्षोत्कृष्ट पत्रकारिताबाट अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका झापा सम्वाददाता राधा खनाललाई पुरस्कृत भएकी छन् ।

पुरस्कृत तीनैजनालाई कार्यक्रमका प्रमुख आतिथि कोमलप्रसाद पोखरेल, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, केशवराज खनाल लगायतले दोसल्ला र नगदसहित सम्मान गरे ।

पुरस्कृत तीनवटै पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ छ । सम्मानित स्रष्टाको व्यक्तित्वबारे कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराई र रेजिना गौतमले प्रकाश पारेका थिए ।

कार्यक्रममा विष्णुकुमार भट्टराईद्वारा लिखित चिन्तन, मनन र गन्थन, बाँच्ने खेलका हारजित र विनोद खनालद्वारा लिखित ‘तितो–मिठो हास्यब्यङ्ग्य कृति विमोचन गरिएको छ । भट्टराईद्वारा लिखित कृतिमाथि पुण्यप्रसाद खरेल र हरिप्रसाद भट्टराईले समिक्षा गरेका छन् ।

विनोद खनालद्वारा लिखित पुस्तकबारे स्रष्टा आफैंले प्रकाश पारेका छन् । कार्यक्रममा दधिराज खनाल र मिना अधिकारीले कविता वाचन गरेका थिए ।