सर्वाेच्च अदालतद्वारा प्रतिनिधि सभा पुनस्थार्पनाको फैसला




काठमाडौँ– सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्थार्पनाको फैसला सुनाएको छ । अहिले भर्खरै सर्वाेच्चले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय अस्वीकार गर्दै पुनस्र्थापनाको फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको छ ।

प्रधानमन्त्रीले संसद भंग गरेपछि सर्वाेच्चमा १३ वटा रिट दायर भएका थिए । ती रिटमाथि संवैधानिक इजलासमा करिब दुई महिना लामो सुनुवाइ भएको थियो ।

फागुन १३ भित्र फैसला आउने अनुमानका बीच सर्वाेच्चले सबैलाई ‘सरप्राइज’ दिँदै आजै साँझ आफ्नो फैसला सुनाएको हो । प्रधानमन्त्रीको संसद विघटनको निर्णय आफैँमा अलोकतान्त्रिक र गैर संवैधानिक भन्दै देशव्यापी आन्दोलन भइरहेका छन् ।

पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जाने घोषणा गरेका थिए । पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेपछि ओलीले संसद विघटनको बाटो राजेपछि देशभित्र र बाहिर उनको तीव्र आलोचना र विरोध भएको थियो ।

अदालतले १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश दिएको छ । अब सरकारले प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।