सत्ताबाट हटाएर देखाउन प्रचण्ड माधव समूहलाई प्रधानमन्त्री ओलीको चुनौती



दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट हटाएर देखाउन नेकपाको प्रचण्ड माधव समूहलाई चुनौती दिएका छन् । झापाको दमकमा आज चीन नेपाल औद्योगिक मैत्री पार्ककाे शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा सरकार नछोड्ने जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव ल्याएर देखाउन भन्दै आफू कुनै मुद्दा मामिलाबाट प्रधानमन्त्री नभएको बताए । पहिले पनि अविश्वासको प्रस्ताव ल्याएर आफूलाई सरकारबाट हटाइएको भन्दै प्रधानमन्त्री ओलीले फेरि जनताको मत पाएर जितेको बताए ।

पद, परिवार र पैसाका लागि मरिहत्ते गर्नेहरुले आफूलाई सधैँ सत्ता र शक्तिबाट हटाउन खोजेको र पार्टी एकता समेत धरापमा पार्ने षडयन्त्र गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए । 

लोकतन्त्र र संविधानप्रति आफ्नो निष्ठा र प्रतिबद्धतामा शंका नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशव्यापी विकासको लहर चलेको दावी गरे ।