प्रेस सङ्गठन झापाको संयोजकमा सुब्रत न्यौपाने



बिर्तामोड– प्रेस संगठनले प्रदेश १ का १४ वटै जिल्लामा संयोजक, सह-संयोजक र सचिवको टुंगो लगाएको छ । नेकपाको प्रचण्ड माधव समूह निकटका पत्रकारलाई संगठनले महत्वपूर्ण जिम्मेवारी दिँदै जिल्लागत संरचनाकाे प्रारम्भिक आधार तयार गरेको हो ।

केन्द्रीय समितिको निर्णयअनुसार प्रेस संगठन झापाको संयोजकमा जिल्लाका अग्रज पत्रकार सुब्रत न्यौपाने चयन भएका छन् । युवा पुस्ताका अनुभवी र मेहनती पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील र सक्रिय छन् ।

संगठनले झापाका अर्का सक्रिय पत्रकार झुलन रेग्मीलाई सह संयोजकको जिम्मेवारी दिएको छ । झापाको मेचीनगर-९ धुलाबारीका स्थायी बासिन्दा रेग्मी डेढ दशकदेखि झापाको पत्रकारितामा क्रियाशील छन् ।

संगठनले अर्काे सह संयोजकको जिम्मेबारी झापाको शिवसताक्षीका अनिलदेव राईलाई दिएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिय राई कुशल संगठक पनि हुन् । उनी हाल दमकमा बस्दै आएका छन् ।

प्रेस संगठनले झापाको सचिवका रुपमा पत्रकार उद्दव पुरीलाई जिम्मेवारी दिएको छ । ब्लाष्ट टाइम्स दैनिकमा लामो समयदेखि कार्यरत पुरी युवा पुस्ताका इमान्दार र मेहनती पत्रकार हुन् ।