बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक समूहको बहुमत



बिर्तामोड — बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थक लोकतान्त्रिक व्यवसायी समूहले बहुमत सदस्य जितेको छ । आइतबार भएको संघको निर्वाचनको अन्तिम मतपरिणाम सोमबार राति सार्वजनिक भएको हो ।

संघको तीनवर्षे कार्यकालका लागि १० जना पदाधिकारीमा ८ जना, ७ जना सदस्यमा ५ जना तथा दुई महिला सदस्यमा एक जना लोकतान्त्रिक समूहका उम्मेद्वार निर्वाचित भएका हुन् ।

संघको चुनावमा नेकपा र राप्रपाले संयुक्त प्यानल बनाएर उमेद्वार बनाएका थिए । संयुक्त प्यानलले पदाधिकारीमा २, सदस्यमा २ र एक महिला सदस्यमा मात्र जित हासिल गरेको छ ।

निर्वाचनमा लोकतान्त्रिक समूहका अध्यक्ष प्रकाश सिवाकोटी, वरिष्ठ उपाध्यक्षमा राजु न्यौपाने, उद्योग उपाध्यक्षमा सञ्जीव घिमिरे, वाणिज्य उपाध्यक्षमा राजकुमार घिमिरे राजु, उद्योग सचिवमा कुशल खतिवडा, कोषाध्यक्षमा दीपेन्द्र राउत र सह–कोषाध्यक्ष महिलामा राधिका चुडाल हुमागाई निर्वाचित भएका छन् ।

पदाधिकारीतर्फ नेकपा र राप्रपाको संयुक्त व्यवसायी प्यानलबाट अर्जुनकुमार मैनाली महासचिवमा र कृष्ण पौडेल वाणिज्य सचिवमा निर्वाचित भएका छन् । संघको जनसम्पर्क उपाध्यक्षमा लोकतान्त्रिक समूहका नैनकला भट्टराई निर्विरोध भएकी थिइन् ।

सदस्यतर्फ लोकतान्त्रिक समूहबाट विशाल थापा, दीपक मित्तल, पुकार बराल, जीवनकुमार खड्का र महिला सदस्यमा तुलसा खनाल ढकाल निर्वाचित भएका छन् । संयुक्त प्यानलबाट गौरीशंकर गुप्ता टिंकु, गुन्जन प्रसाईं र महिला सदस्यमा रुचि सिवाकोटी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

संघको आइतबारको मतदानमा ३ हजार ८ सय ५८ मत खसेको थियो । संघमा कुल मतदाता ४ हजार ५ सय ५० रहेका थिए ।