दोभानका अग्निपीडितलाई १८ सय किलो चामल वितरण, प्रतिपरिवार ५० हजार दिने घोषणा




झापा– ताप्लेजुङको मेरिङदेन–३ दोभानका अग्निपीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आज प्रभावित क्षेत्रमा पुगेर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामग्री बाँडेका हुन् ।

प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई १८ सय किलो चामल, २५० किलो दाल, नुन, तेल लगायतका खाद्यान्न र म्याट्रेस लगायतका सामग्री बाँडिएको हो । मुख्यमन्त्री राईले पीडितको माग अनुसार ग्यास सिलिन्डर, चुलो र प्रेसर कुकर समेत उपलब्ध गराउने आश्वासन दिएका छन् ।

मुख्यमन्त्री राईले थप राहत प्याकेज समेत घोषणा गरेका छन् । पीडितलाई प्रतिपरिवार ५० हजार नगद उपलब्ध गराउने मुख्यमन्त्री राईले बताए । भाडामा बस्दै आएकाहरुले प्रतिपरिवार ३० हजार पाउने छन् ।

आगलागीमा परी घाइते भएका मेरिङदेन–३ दोभानका भोला पौडेललाई मुख्यमन्त्री राईको टोलीले थप उपचारका लागि काठमाडौं पठाएको छ ।

मुख्यमन्त्री राईका साथमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य टंक आङबुहाङ, प्रताप प्रकाश हाङगाम लगायतको टोली प्रभावित क्षेत्रमा पुगेको थियो ।