बुट्टाबारीदेखि प्याकुरेल चोकसम्म सडक कालोपत्र गर्न ७३ करोड



बिर्तामोड– पूर्वपश्चिम राजमार्गको बुट्टाबारी चोकदेखि दक्षिण प्याकुरेल चोकसम्म पुग्ने बाटो कालोपत्रे हुने  भएको छ । वडा नम्बर ६ को बुट्टाबारीदेखि ८ काे प्याकुरेल चोकसम्म पुग्ने सडक निर्माणका लागि सहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउने भएको हो ।

 सडक निर्माणका विषयमा मन्त्रालय र बिर्तामोड नगरपालिकाबीच सम्झौता भएको छ । सडक निर्माण सम्बन्धी सम्झौतामा फागुन २१ गते बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले हस्ताक्षर गरेका छन् ।

विश्व बैंककाे लगानी रहने सडक निर्माणका लागि सहरी विकास मन्त्रालयले करिब ७३ करोड रुपैयाँ खर्चिने भएको बिर्तामोड नगरपालिकाका प्रशासकीय अधिकृत देवराज कार्कीले जानकारी दिए ।

धुलाम्मे अवस्थाको सडक कालोपत्रे हुने भएपछि स्थानीय पनि  उत्साहित भएका छन् । सामाजिक सञ्चाल प्रयोगकर्ता ज्योतिष चेतन आेली फेसबुकमा लेख्छन्, बधाई छ सबैलाई, तर बाटोचाहिँ गुणस्तरीय हुनुपर्छ ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता डम्बर तिम्सिनालाई पनि सडक निर्माण हुने विषयले खुसी तुल्याएको छ । उनी फेसबुकमा लेख्छन्, ल बधाई छ । कालो सडकमा हुइँकिन पाइने भइएछ ।