‘एमालेसँग सहकार्य गरेर काङ्ग्रेस सरकारमा जाँदैन’



बिर्तामोड– नेपाली काङ्ग्रेसका नेता डाक्टर शेखर काेइरालाले सर्वोच्च अदालतको दाेस्राे फैसलापछि देश झन् अन्याेलतातर्फ गएको बताएका छन् । झापाको विर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता काेइरालाले यस्तो धारणा राखेका हुन् ।

संविधान समाप्त पार्ने खेलमा लागेका कारण एमालेसँग सहकार्य गरेर काङ्ग्रेस सरकारमा जान नसक्ने नेता काेइरालाले बताए । ‘संसद पुनस्थापनापछि संविधान त बाँच्याे तर संसद चल्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमा नेता काेइरालाले भने, ‘अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन् ।’

नेता कोइरालाले कांग्रेसका अबका गतिविधि र कार्यक्रम चुनाव मुखी हुनुपर्ने बताउँदै त्यही अनुसारको तयारी गर्न नेता-कार्यकर्तालाई निर्देशन पनि दिए । संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेल पनि झापालीले गरेको भन्दै नेता कोइरालाले ठट्यौली गरे । उनले केपी ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै सत्तामा उनको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने बताए ।

काङ्ग्रेसका प्रभावशाली नेता कोइरालाले १४ औं महाधिवेशनकाे सिलसिलामा आफू जिल्ला दाैडाहामा आएको बताउँदै आफू सभापतिको बलियो दाबेदार रहेको बताए। नेपाली काङग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै काेइरालाले उनीसँग छुट्टै कुरा गर्ने बताए ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले अहिलेको राजनीतिक संकट माेचनकाे दायित्व काङ्ग्रेसकाे काँधमा आएको बताए । उनले केपी ओली नेतृत्वको सरकारले अहिले सम्मका राजनीतिक उपलब्धि समाप्त पार्ने नियत  राखेको टिप्पणी गरे ।

अर्का केन्द्रीय सदस्य धनराज गुरुङले काङ्ग्रेस अहिले पनि अलमलमा रहेकाे बताए । दर्शक दीर्घामा बसेर काङ्ग्रेसले गाेल हान्न खाेजेकाे भन्दै मैदानमा उत्रिन नसक्नु कमजोरी भएको नेता गुरुङले बताए।