जन्मदिनमा सीपीले दिए झापा नाटक घरलाई एक लाख



बिर्तामोड– युवा राजनीतिज्ञ एवम् सामाजिक अभियन्ता सीपी कडरियाले झापाको बिर्तामोड-१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधीन बहुजातीय संग्रहालय सहितको झापा नाटक घरका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गरेका छन् ।

आफ्नो ४१ औं जन्मोत्सवको अवसर पारेर नेता कडरियाले झापा नाटक घरका लागि उक्त रकम सहयोग गरेका हुन् । आज बिहान नाटक घरमा आयोजित एक कार्यक्रमका बीच युवा राजनीतिज्ञ कडरियाले झापा नाटक घर निर्माण संयोजन समितिका संयोजक ज्ञानुराम प्रसाईंलाई रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण गर्दै कडरियाले आफू कुनै ठूलो दानवीर भएर रकम नदिएको बताउँदै बहुजातीय सांस्कृतिक संग्रहालय सहितको नाटक घर निर्माणका लागि होस्टेमा हैसे गरेको बताए । उनले आफ्ना आमाबुवाको योगदानलाई समेत स्मरण हुने गरी सहयोग हस्तान्तरण गरेको बताए ।

जीवन सङ्गीनी निरु खतिवडालाई समेत साथमा लिएर कार्यक्रमस्थलमा आएका कडरियाले यसअघि नाटकघर निर्माण अभियानमा आफ्नो तर्फबाट एक धुर जग्गा किन्न रकम सहयोग गर्ने घोषणा गरेका थिए । पूर्वघोषणा अनुसार उनले रकम हस्तान्तरण गरेका हुन् ।

समाज रुपान्तरणको अभियानमा निरन्तर सक्रिय रहेका कडरियाको व्यक्तित्वका विषयमा पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईले प्रकाश पारेका थिए । अध्यक्ष प्रसाईले अध्ययनशील क्षमता भएका कडरिया समय र आफ्नो वचनप्रति सधैँ प्रतिबद्ध रहेको बताए ।

झापा नाटक घरका लागि विभिन्न क्षेत्रबाट कम्तिमा एक धुर जग्गा खरिदको प्रतिबद्धता आएको छ । दाताले अनुकुलताका आधारमा पूर्व प्रतिबद्धता बमोजिम रकम सहयोग गर्दै आएको क्षितिज नाट्य समूहका अध्यक्ष युवा रङ्गकर्मी माधव कल्पित बताउँछन् ।

कार्यक्रममा बिर्तामोडका सामाजिक अगुवा बैदेशिक रोजगार व्यवसायी भानु शिवाकोटीले पनि आफ्नो पूर्व प्रतिबद्धता अनुरुप नाटक घर निर्माण अभियानमा ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रममा बिर्तामोडकी महिला नेतृ रञ्जु प्याकुरेलले पनि ११०० नगद सहयोग गरेको नाट्य समूहका अध्यक्ष कल्पितले जानकारी दिए ।

कार्यक्रममा बोल्दै निर्माण संयाेजन समितिका संयोजक प्रसाईले भाषा, धर्म र संस्कृतिको रक्षाका लागि झापा नाटक घरको निर्माण देशकै लागि नमुना हुने बताए ।