विराट ज्योति र ग्लेसियर इन्टरनेशनलबीच व्यवस्थापकीय सहकार्य सम्झौता



बिर्तामोड (विवेचना)– झापा बिर्तामोडको विराट ज्योति अंग्रेजी मावि र काठमाडौँस्थित ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजबीच व्यवस्थापकीय सहकार्यको सम्झौता भएको छ । विराट ज्योतिको शैक्षिक विकासका लागि साझेदारी सहकार्य गर्न ग्लेसियर तयार भएको हो ।

दुबै शैक्षिक प्रतिष्ठानले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी सहकार्यका लागि सम्झौता भएको जनाउँदै आपसी सहकार्यले विराट ज्योतिको शैक्षिक गुणस्तर अझै माथि उठ्ने विश्वास व्यक्त गरेका छन् । विराट ज्योति अंग्रेजी मावि २०५३ सालमा स्थापना भएको हो ।

नर्सरीदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको विराट ज्योतिमा प्लस टूमा व्यवस्थापन संकाय पनि पढाइ हुँदै आएको छ । हाल एक हजार विद्यार्थी विराट ज्योतिमा अध्ययनरत छन् ।

२०७८ देखि विज्ञान र मानविकी संकाय तथा मन्टेश्वरी शिक्षामा आधारित शिक्षा सञ्चालन गर्ने तयारी भइरहेको ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजका प्रिन्सिपल दिवस शाक्यले बताए । ग्लेसियर इन्टरनेशनल स्कुल एण्ड कलेजले २०५१ म स्थापना भएको हो ।

पत्रकार सम्मेलनमा विराट ज्योति माविका अध्यक्ष गणेश ओलीले व्यवस्थापकीय जिम्मेवारी ग्लेसियरले लिए पनि पुरानो टीम यथावत रहने बताए ।