निर्वाचित कार्य समितिद्वारा झापा उद्योग संघको पदभार ग्रहण




भद्रपुर– झापाका उद्योगीको पुरानो संस्था झापा उद्योग संघमा आगामी तीनवर्षे कार्यकालका लागि निर्वाचित कार्य समितिले शनिबारदेखि कार्यभार सम्हालेको छ ।

संघको सभाहलमा आयोजित समारोहका बीच नवनिर्वाचित अध्यक्ष यमबहादुर श्रेष्ठलाई संघको माइन्यूट दिँदै वर्तमान अध्यक्ष टीकाराज ढकालले पद हस्तान्तरण गरेका हुन् ।

समारोहका प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डरिाज ढकालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई ओहोदाको प्रमाणपत्र वितरण गरका छन् ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत गोपाल गिरीले निर्वाचित कार्य समितिलाई खादा–माला पहिर्याएर सम्मान गरेका छन् । महासचिव दुर्गाप्रसाद भण्डारीले सञ्चालन गरेको समारोहमा प्रमुख अतिथि ढकालले उद्योगीको समस्या समाधानमा नवनिर्वाचित कार्यसमितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भद्रपु्र नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले भद्रपुर नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिँदै त्यसका लागि आवश्यक सुझाव–सल्लाह दिन उद्योगी–व्यवसायीलाई आग्रह गरे ।

समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तारानाथ घिमिरे, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, भद्रपुर नगरपालका वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संघको विधान अनुसार तीन जनालाई कार्यसमितिमा मनोनित गरेको घोषणा गरेका छन् । कार्य समितिमा रिक्त रहेको एक उपाध्यक्ष (कृषि, वन)–मा हेमराज ढकाललाई र सदस्यमा प्रतिष्ठित उद्योगी परशुराम अग्रवाल र बुद्धि घिमिरेलाई मनोनित गरिएको छ ।

समारोहमा आफ्नो कार्यकालमा भएका क्रियाकलापमा सहयोग गरेकोमा अध्यक्ष ढकालले उपाध्यक्ष दीपेश ढकाल र महासचिव दुर्गाप्रसाद भण्डारीलाई विशेष मायाको चिनो प्रदान गरेका छन् । संघमा कार्यालय सहयोगीको रुपमा लामो समय सेवा पुर्याएकोमा लक्ष्मीप्रसाद पोखरेललाई नगदसहित कदरपत्र प्रदान गरिएको छ । पोखरेल हाल अस्वस्थ रही काठमाडौंमा उपचाररत छन् ।

फागुन २२ गते निर्वाचन प्रक्रियाबाट कार्य समिति चयन भएको थियो । अध्यक्षमा यमबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा शिवकुमार गुप्ता, उद्योग उपाध्यक्षमा दिपेश ढकाल, महासचिवमा दुर्गाप्रसाद भण्डारी चयन भएका छन् ।

सचिवमा प्रदीपमणि रेग्मी, कोषाध्यक्षमा प्रदीप सरावगी तथा सदस्यमा चण्डीप्रसाद पराजुली, जयप्रकाश शर्मा, सुरेशकुमार अग्रवाल, विनय गोयल, रमेश पराजुली, सञ्जयकुमार पोखरेल, विनय गोयल, आदित्य पराजुली र महेश चित्लांगिया सर्वसम्मत निर्वाचित भएका थिए ।