चैत ७ देखि चौथो संस्करणको ‘रोलिङ च्यालेञ्ज कप’




धुलाबारी– रोलिङ क्लव धुलाबारीको आयोजनामा चैत ७ गतेदेखि १४ गतेसम्म चौथो संस्करणको प्रदेश १ स्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता’ हुने भएको छ । आज धुलावारीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो ।

धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा एक विभागीय टीमसहित आठ वटा क्लबले सहभागिता जनाउने निश्चित भएको क्लबका सचिव महेश खड्काले जानकारी दिए । प्रतियोगिताको तयारी अन्तिम चरणमा छ ।

प्रतियोगितामा आयोजक रोलिङ क्लब धुलाबारीसहित रेडहर्स इलाम, शिवसताक्षी फुटवल क्लब झिलझिले, न्यू स्टार फुटवल क्लब सुनसरी, चारआली–धाइजन फुटवल क्लब मेचीनगर, सशस्त्र प्रहरी बल पकली, पथरी फुटवल क्लब मोरङ र कणर्सिंह सोनाम फुटवल क्लब ताप्लेजुङको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिताभर उत्कृष्ट खेलाडी, उत्कृष्ट टीम, उत्कृष्ट गोलकर्ता लगायतलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । खेल दिउँसो ३ः३० बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । त्यसमा प्रथम र दोस्रो पुरस्कारको मुख्य प्रायोजकमा मेचीनगर वडा नम्वर १० रहेको छ । अन्य रकम खेलप्रेमी तथा उद्योगीबाट सहयोग संकलन गरिनेछ ।

क्लबका अध्यक्ष नोमेम्बर नेम्वाङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल महासंघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मगर ‘मामा’, वडाध्यक्ष सुदय पनेरु लगायत सहभागी थिए ।