ओलीको कदमविरुद्ध खनाल नेपाल समूह आक्रोसित, चैत ४ र ५ मा राष्ट्रिय भेला



बिर्तामोड- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले निर्णय गर्दैै पेलेर लैजानेेे नीति लिएपछि आक्रोशित बनेको खनाल नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरूको आज बसेको बैठकले अध्यक्ष ओलीको कदमका विरुद्ध लड्नुपर्ने आवश्यकता औंल्याउँदै राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो ।

एमाले नेता भीम रावलका अनुसार चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, प्रदेश सांसद, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिकाका प्रमुख तथा उपप्रमुखलाई काठमाडौँ बोलाइएको छ।

बैठकले राष्ट्रिय भेला संयोजन गर्न प्रादेशिक तहमा अल्पकालीन जिम्मेवारी रहने गरी इन्चार्ज तोक्नुका साथै प्रचार विभागको जिम्मेवारी पनि निर्धारण गरेको छ । नेता योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

यसअघि हिजो एमाले अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित खनाल नेपाल समूह निकटका सबै नेताहरूको जिम्मेवारी एकलौटी रुपमा खोस्नुका साथै माओवादीबाट आएका २३ जनालाई नयाँ जिम्मेवारी तोकेका थिए ।

अध्यक्ष ओलीको कदमविरुद्ध खनाल नेपाल समूह प्रतिवादमा उत्रिएको हो । उसले पार्टीमा समानान्तर कमिटी बनाएर जाने निर्णय पनि गरेको छ ।