शिक्षा बहुउद्देश्यीय सहकारीको पाँचौं सेवा केन्द्र चैतुबारीमा



बिर्तामोड– शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि को पाँचौं सदस्य सेवा केन्द्र बिर्तामोड नगरपालिका-२ चैतुबारीमा स्थापना भएको छ । सदस्यको माग र आवश्यकताका आधारमा पाँचौं सेवा केन्द्र चैैतुबारीमा खोलिएको हो ।

झापा जिल्लाभर कार्यक्षेत्र रहेको शिक्षा बहुउद्देश्यीय सहकारीले यसअघि धाइजन, शनिश्चरे, दुर्गापुर र धुलाबारीमा सदस्य सेवा केन्द्र स्थापना गरिसकेको छ । ती सेवा केन्द्रमार्फत शेयर सदस्यले वित्तीय कारोबार गरिरहेका छन् ।

झापाको बाह्रदशी र घैलाडुब्बाका सदस्यलाई समेत वित्तिय सेवा प्रदान गर्ने गरी पाँचौं सेवा केन्द्र सुरु गरिएको संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले जानकारी दिए । चैतुवारी सेवा केन्द्रको सोमबार वडाध्यक्ष नगेन्द्र संग्रौलाले उद्घाटन गरेका छन् ।

उद्घाटनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडाध्यक्ष संग्रौलाले स्थानीय क्षेत्रका जनताको वित्तीय आवश्यकता पूरा गर्न शिक्षा बहुउद्देश्यीय सहकारी सफल हुने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्रीय सभापति धर्म लक्सम्बाले वित्तीय संस्था स्थापनाको आवश्यकता खड्किरहेको बेला शिक्षा बहुउद्देश्यीयले सेवा केन्द्र स्थापना गरेर महत्वपूर्ण काम गरेको बताए ।

सञ्चालक सदस्य चिजा राईका अनुसार सहकारी संस्था र त्यस मातहतको शैक्षिक संस्थामा गरेर ४० जनाले प्रत्यक्षरुपमा रोजगारी प्राप्त गरेका छन् ।

संस्थाका सचिव दीपेशकुमार धौरालीका अनुसार सहकारीमा तीन हजार भन्दाबढी सदस्य आवद्ध छन् । सहकारीले आफ्नै व्यवस्थापनमा विर्तामोडको देवी पञ्चकन्यामा शिक्षा शिकोप निकेतन मन्टेश्वरी पनि सञ्चालन गरिरहेको छ ।

२०६९ भदौ २५ बाट शुरु भएको संस्थामा हाल दुई करोड ३५ लाख भन्दाबढी शेयर पूँजी संकलन भएको छ । संस्थाले फागुन मसान्तसम्म १५ करोड भन्दाबढी रुपैयाँ संस्थाका सदस्यलाई ऋण लगानी गरेको ऋण उपसमितिका संयोजक हेमराज मिश्रले जानकारी दिए ।