
झापा– कोरोनाको खोप निर्यातमा भारतले प्रतिवन्ध लगाएको छ । आन्तरिक खपत बढ्दै गएपछि भारतले खोप निर्यातमा अस्थायी प्रतिवन्ध लगाएको बीबीसीले जनाएको हो ।
दोस्रो चरणको अभियान चलिरहँदा भारतले खोप निर्यात नगर्ने जनाएको छ । भारतमा खोपको माग उच्च भएकाले नेपाल लगायतका मुलुकले तत्काल निर्यात प्रतिवन्धको सामना गर्नु पर्ने परिस्थिति सिर्जना भएको छ ।
अक्सफोर्ड–एस्ट्राजेनेका खोपको सबै निर्यातमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतको निर्णयपछि कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर पर्नेछ ।
भारतले कोरोना संक्रमणपछि ७६ देशमा छ करोड भन्दाबढी खोप निर्यात गरिसकेको छ । त्यसमध्ये धेरै अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप छ । खोप निर्यात रोक्ने भारतीय सरकारको निर्णयपछि नेपालमा खोप अभाव हुने अनुमान छ ।