मुख्यमन्त्री राईद्वारा प्रदेश सरकार विस्तारको तयारी



झापा– प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले सरकार विस्तारको तयारी सुरु गरेका छन् । आफूविरुद्ध अघि सारिएको अविश्वासको प्रस्ताव असफल हुने भएपछि मुख्यमन्त्री राईले मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

प्रदेश सरकारका सातवटामध्ये चार वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री राई आफैंले सम्हालिरहेका छन् । आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समूहका सांसदले सातदिनभित्र हस्ताक्षर फिर्ता लिने भएपछि मुख्यमन्त्री राईले सरकार विस्तार गर्न लागेका हुन् ।

अविश्वासको प्रस्ताव छिनोफानो भइसकेपछि मन्त्रिमण्डल बिस्तार हुने प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले जानकारी दिए । प्रदेश सरकार स्रोतका अनुसार मन्त्री बन्नेको सूचीमा माओवादी केन्द्र छोडेका र एमालेभित्र माधव नेपाल गुट परिवर्तन गरेका सांसद छन् ।

माओवादी केन्द्र छोडेका टङ्क आङबुहाङ, माधव नेपाल समूह त्याग गरेका उषाकला राई र कला घले, राजकुमार ओझा र गोपाल बुढाथोकीको नाम मन्त्रीका लागि चर्चामा छ । अरु केही थपघट गरेर मुख्यमन्त्री राईले तत्कालै मन्त्रिपरिषद विस्तार गर्ने जनाइएको छ ।