संगठन विस्तारमा राप्रपा, अर्जुनधारा नगर अध्यक्षमा खतिवडा



बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले नगर क्षेत्रमा संगठन बिस्तारको अभियानलाई तीव्र बनाएको छ । पार्टी एकतापछि राप्रपाले संगठन बिस्तारको अभियानलाई तीव्रता दिएको हो ।

राप्रपाले अहिले नगरक्षेत्रमा नयाँ नेतृत्व चयन गर्दै आफ्ना नेता कार्यकर्तालाई संगठित गरिरहेको छ । पछिल्लो दुई सातायता राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको मेचीनगर, भद्रपुर र अर्जुनधारा नगर क्षेत्रमा नयाँ नेतृत्व चयन गरेको हो ।

आज भएको अधिवेशनबाट अर्जुनधारा नगरको अध्यक्षमा युवा व्यक्तित्व सूर्यकुमार खतिवडा चयन भएका छन् । लामो समयदेखि खतिवडा राप्रपामा संगठित थिए । पार्टीले उनलाई यसपटक अर्जुनधारा नगर अध्यक्षकाे जिम्मेवारी दिएको हो ।

यसअघि भएको अधिवेशनबाट राप्रपाले मेचीनगरमा सबिना बजगाई र भद्रपुरमा राधा कार्कीलाई अध्यक्षको जिम्मेवारी दिँदै नेता-कार्यकर्तालाई संगठित गरेकाे थियाे।