फेरि कोरोनाको त्रास : काँकडभिट्टा नाकामा कडाई, स्वास्थ्य परीक्षण अनिवार्य



काँकडभिट्टा– भारतीय सीमावर्ती नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सर्तकता बढाइने भएको छ । जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले कोरोना संक्रमण फैलिन नदिन सीमा नाकामा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइपूर्वक लागू गर्ने निर्णय गरेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमणको बढ्दै गएकाले झापामा जोखिम बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षा सर्तकता अपनाउने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

बैठकले सीमा नाकामा यात्रुको आवतजावतलाई व्यवस्थित बनाउन होल्डिङ सेन्टर बनाउने र नेपाल प्रवेश गर्ने यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ । यसको प्रवन्ध मेचीनगर नगरपालिकाले गर्ने छ ।

बैठकले जोखिम मोलेर नेपाल भारतको सीमा नाकामा आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गर्दै आवतजावत गर्नेको अभिलेख राख्ने निर्णय गरेको छ । त्यसको व्यवस्थापन नेपाल र सशस्त्र प्रहरीका युनिटले गर्नेछन् ।