एमालेमा नेपाल समूहको निष्कर्ष : नेतामाथिको कारबाही अस्वीकार्य



झापा- नेकपा एमालेको नेपाल समूहले आफ्ना दुई नेतामाथि गरिएको कारबाही अस्वीकार्य भएको निष्कर्ष निकालेको छ । छलफल र बहसको ढोका बन्द गर्ने र एमालेलाई विभाजनतिर लैजाने गरी कारबाही अघि बढाइएको भन्दै नेपाल समूहले त्यसलाई मान्न नसकिने जनाएको हो ।

पार्टी अनुशासनविपरीत काम गरेको जनाउँदै एमाले अध्यक्ष ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई छ महिना पार्टीबाट निलम्बन गर्ने निर्णय गरेका थिए । आज बसेको नेपाल समूहका ११ स्थायी कमिटी सदस्यको बैठकले कारबाहीको निर्णय विधानविपरीत भएको निष्कर्ष पनि निकालेको छ ।

अध्यक्ष ओली आफैँ पार्टी विधानविपरीत चलिरहेको भन्दै नेपाल समूहले कारबाही अस्वीकार गर्ने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । उनले आफूहरूको सांगठनिक र वैचारिक गतिविधि बिनारोकटोक काम रहने जनाउँदै नयाँ पार्टी बनाउने सन्दर्भमा तत्काल कुनै निर्णय नहुने जानकारी दिए ।