साप्ताहिक हाटबजार बन्द गर्ने बिर्तामोड नगरपालिकाकाे निर्णय



झापा : बिर्तामोड नगरपालिकाले कोराेना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख ध्रुवकुमार  शिवाकोटीको अध्यक्षतामा आज बसेको बैठकले साप्ताहिक बजार बन्द गर्ने निर्णय गरेको हो ।

भारतमा दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि सरकारले उच्च सतर्कता अपनाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । सीमावर्ती जिल्ला भएका कारण झापा कोरोनाको उच्च जोखिममा रहेको सरोकारवालाको ठम्याइ छ ।

बैठकले भिडभाड हुने सबै प्रकारका कार्यक्रम नगर्न समेत सरोकारवाला सबैलाई अपिल गरेको छ । नगरप्रमुख शिवाकोटीका अनुसार सम्भावित जोखिमको आँकलन गरेर साप्ताहिक हाट बजार बन्द गर्ने निर्णय भएको हाे ।