
सुब्रत न्यौपाने, झापा
कोरोना भाइरसको सङ्क्रमण र यसबाट उत्पन्न जटिल परिस्थितिपछि सङ्कट व्यवस्थापनमा झापाका स्थानीय तहको सक्रियता बढेको छ । सङ्क्रमणको बढ्दो जोखिम आँकलन गरेर जिल्लाका १५ वटै स्थानीय तहले आ–आफ्नै ढङ्गले सक्रियता बढाएका छन् । समुदाय तहमा कोरोना सङ्क्रमण थप फैलिन नदिन स्रोत र साधनले भ्याएसम्म स्थानीय तहले काम गर्दै आएका छन् ।
भारतसँग सीमा जोडिएका क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडाई गरे पनि स्वदेश फर्किएका नेपालीलाई होल्डिङ सेन्टरमा राख्ने, स्वास्थ्य जाँच गर्ने र गन्तव्यसम्म पुर्याउने काममा स्थानीय तहले भूमिका खेलेका छन् । सीमा पार गरेर आएका नेपालीका लागि स्थानीय तहको न्यानो स्वागतले मल्लमपट्टीको काम गरेको छ । कोरोना सङ्कटका बेला स्थानीय तह आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा आशा र भरोसाको बलियो खम्वाका रुपमा उभिएका छन् ।
सङ्क्रमितका लागि आइसोलेसन निर्माण, अक्सिजन सिलिण्डरको व्यवस्थापन र गाउँ तथा नगरका सरकारी स्वास्थ्य संस्थाको गुणात्मक सुधारमा पनि स्थानीय तहको ध्यान केन्द्रित छ । स्वास्थ्य संस्थामा पूर्वाधार थप्नेदेखि जनशक्ति र उपकरण व्यवस्थापन गर्ने विषयमा पनि स्थानीय तहले आफ्नो प्रभावकारिता बढाएका छन् । यसपटक सङ्क्रमितले अक्सिजन अभाव झेल्नु परेपछि त्यसमा धेरै स्थानीय तहको चासो बढेको छ ।
अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु नहोस् भन्ने उद्देश्य राखेर झापाको कनकाई नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको अवधारणा अघि सारेको छ । कनकाईले अघि सारेको स्वास्थ्य सुरक्षा योजनामा नागरिक सहभागिता पनि उल्लेख्य छ । ‘नगरको भूमिकालाई थप गतिशील र प्रभावकारी बनाउन नागरिक सहायताको खाँचो परेको हो’, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल भन्छन्, ‘सबैको सहयोगले मात्रै कोरोनाविरुद्ध लड्न सकिन्छ ।’

कनकाईको २० वेड क्षमताको आफ्नै कोभिड अस्पताल पनि छ । अस्पतालमा दुई जना चिकित्सकसहित १२ जना स्वास्थ्यकर्मी खटिएका छन् । नगर प्रमुख पोखरेलले अक्सिजन प्लान्ट निर्माणको काम अघि बढिसकेको बताए । कनकाई नगरपालिकाले दैनिक एकसय वटा सिलिन्डर भर्न सक्ने क्षमताको प्लान्ट राख्ने तयारी गरेको हो । असार पहिलो सातासम्म अक्सिनजन प्लान्ट स्थापनका लागि नागरिक तहबाट ५५ लाख रुपैयाँ जुटिसकेको छ ।
‘नगरबासीको सहयोग प्रशंसनीय छ’, नगर प्रमुख पोखरेलले भने, ‘छिट्टै अक्सिजन प्लान्ट निर्माण गरिसक्ने योजनामा छौँ ।’ प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा प्लान्ट राख्ने तयारी छ । नगरपालिकाले अक्सिजन प्लान्ट राख्ने घोषणा गरेपछि विदेशमा रहेका नगरबासीले पनि धमाधम रकम पठाइरहेका छन् । करिव दुई करोड रुपैयाँ लागतमा अक्सिजन प्लान्ट सञ्चालनमा आउने पोखरेलले बताए ।
नगर प्रमुख पोखरेल आफैँले तीन वर्षको पारिश्रमिकवापत १० लाख रुपैयाँ अक्सिजन प्लान्टलाई दिएका छन् । उनले पहिलो वर्षको पारिश्रमिक मजदूर संगठनले स्थापना गरेको कोषलाई दिएका थिए । यसपटक सङ्क्रमितका घर–घरमा अक्सिजन सिलिण्डर लिएर नगर प्रमुख पोखरेल दौडिएको विषयले निकै चर्चा पाएको छ । ‘घामपानी नभनी सायदै मेयरहरु कुदेका होलान्’, पोखरेलको सक्रियताप्रति कनकाईका स्थानीय निर्मल सिटौला भन्छन्, ‘उहाँ आफैँले अक्सिजन सिलिण्डर बोकेर कुदेको देख्दा साँच्चै मन छोयो ।’
पहिलो चरणको सङ्क्रमणबाट पाठ सिकेका स्थानीय तहले दोस्रो चरणको भेरियन्ट सुरु भएयता नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान केन्द्रीत गरेका छन् । पहिलो चरणको कोरोना सङ्क्रमणका बेला अधिकांश स्थानीय तहको प्राथमिकतामा खाद्यान्न वितरण परेको थियो । यसपटक खाद्यान्न वितरण कम प्राथमिकतामा छ ।
‘लक डाउनको मारमा परेका विपन्न नागरिकलाई त्यतिबेलाको आवश्यकताका आधारमा खाद्यान्न लगायतका सामग्री राहतस्वरुप बाँडिएको थियो’, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले भने, ‘यसपटक प्राथमिकता फेरिएको छ । नागरिकको स्वास्थ्य सुरक्षामा हाम्रो ध्यान केन्द्रीत छ ।’
समुदाय तहमा सङ्क्रमण फैलिए पनि थप जोखिम घटाउन स्थानीय तहले भूमिका खेलेको प्रवक्ता पाण्डेले बताए । समयमा स्वाव सङ्कलन, परीक्षण र परिणामलाई पनि स्थानीय तहले प्राथमिकतामा राखेका छन् । लामो समयसम्म परीक्षण रिपोर्ट नआउने यसअघिको समस्या यतिबेला छैन ।
झापामा भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल र समुदाय तहबाट सङ्गठित भएको ‘एकका लागि एक अभियान’ ले कनकाई नगरपालिकामा स्थापना गरेको पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा छन् । ती प्रयोगशालाबाट परीक्षणको २४ घण्टाभित्र नागरिकले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट प्राप्त गर्न सक्ने अवस्था छ । छिटो भन्दा छिटो रिपोर्ट प्राप्त गर्ने विषयमा स्थानीय तह चनाखो बसेका छन् ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ आफैँ सङ्क्रमितको शव व्यवस्थापनमा खटिने गर्छन्् । नेपाली सेना र स्काउटको सहयोगमा सङ्क्रमितको शव व्यवस्थापन गर्ने सरकारी निर्देशन भए पनि नगर प्रमुख श्रेष्ठ आफैँ खटिने गरेका हुन् । जेठ अन्तिम साता भद्रपुरका लिम्वू थरका सङ्क्रमितको शव व्यवस्थापनमा नगर प्रमुख श्रेष्ठ आफैँ खटिएपछि उनको प्रशंसा र आलोचना दुबै भएको छ ।

शव वाहन आफैँ चलाएर उनी जातिय परम्परा अनुसार लिम्वूको शव व्यवस्थापनमा खटिएका थिए । अघिल्लोवर्ष आफैँ सङ्क्रमणमा परेका नगर प्रमुख श्रेष्ठ सङ्क्रमितको नियमित सम्पर्कमा छन् । उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने, उपचारका लागि लैजाने कार्यमा उनको सक्रियता छ ।
अघिल्लो वर्ष कोरोना सङ्क्रमण हुँदा सङ्क्रमित र तिनका परिवारले शारीरिक र मानसिक रुपमा धेरै तनाव सामना गर्नुपरेको थियो । सङ्क्रमित र तिनका परिवारलाई समुदायले समेत वेवास्ता गर्दा उनीहरु झन् पीडामा थिए । तर, यसपटक समुदायका अगुवा हुन् वा जनप्रतिनिधि, आफैँ सङ्क्रमितका घर–घरमा पुगेर हौसला दिइरहेका छन् । स्वास्थ्यकर्मीको टोली पनि सङ्क्रमितका घरमा पुगिरहेको छ ।
सङ्क्रमितको अक्सिजन लेवल जाँच गर्ने, कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउने खालका जडिबुटी र आयुर्वेदिक औषधि वितरण गर्ने, मनोसामाजिक परामर्श दिने लगायतका काममा स्वास्थ्यकर्मी घर–घरमा पनि खटिइरहेका छन् । रोग प्रतिरोधात्मक क्षमता बढाउने प्रोटिनयुक्त खाद्य पदार्थ र औषधि लिएर जनप्रतिनिधिको टोली समुदायमा घुमिरहेको हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।

‘सङ्क्रमितलाई हौसला दिन हामी घर–घरमा पुगिरहेका छौँ’, अध्यक्ष लिङ्देनले भने, ‘अघिल्लो वर्ष जस्तो सङ्क्रमितले मानसिक तनाव झेल्नुपर्ने अवस्था छैन् । स्वास्थ्य अवस्था बुझ्ने, आत्मवल बढाउने र सिकिस्त विरामी परेकालाई तत्काल अस्पताल लैजाने व्यवस्था मिलाएका छौँ ।’ गाउँपालिकाले अक्सिजनसहित २५ बेडको आइसोलेसन सञ्चालनमा ल्याएको अध्यक्ष लिङ्देनले बताए । आइसोलेसनमा चिकित्सकको पनि व्यवस्था छ ।
सङ्क्रमितको मृत्यु भएको अवस्थामा गाउँपालिकाले काजक्रिया खर्च पनि उपलब्ध गराउन थालेको छ । मृतकका परिवारलाई २५ हजार रुपैयाँ काजक्रिया खर्च दिइने गरेको अध्यक्ष लिङ्देन बताउँछन् । हल्दीवारीमा असार पहिलो सातासम्म सात जनाले ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा पनि गाउँपालिकाले सघाउँदै आएको छ ।
सङ्क्रमितको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले औषधि र पोषणयुक्त खानेकुरा पनि वितरण गरिरहेको बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले बताए । ‘गाउँपालिकाको आइसोलेसनमा बसेका सङ्क्रमितलाई हरेक दिन एक छाक माछा मासुको व्यवस्था छ’, अध्यक्ष भुजेलले भने, ‘नखानेहरुलाई पनि अरु पोषिलो खानेकुरा दिइरहेका छौँ ।’

बुद्धशान्तिले कोरोना सङ्क्रमितको उपचारका लागि २५ बेडको आइसोलोसन सञ्चालनमा ल्याएको छ । आइसोलोसन सेन्टरमा स्वास्थ्यकर्मी, कुरुवा र एम्वुलेन्स चालकका लागि छुट्टाछुट्टै आराम कक्षको व्यवस्था छ । आइलोसनमा अक्सिजनसहित सङ्क्रमितले एक्सरे सुविधा पनि पाउँछन् । ‘सङ्क्रमितको निमोनिया जाँचका लागि एक्सरे सुविधा पनि दिएका छौँ’, अध्यक्ष भुजेलले भने, ‘सङ्क्रमितको उपचार निशुल्क हुन्छ ।’
बुद्धशान्तिको आइसोलेसनमा एकजना डाक्टर र तीनजना स्वास्थ्यकर्मी खटिएका छन् । सङ्क्रमितलाई बोक्न गाउँपालिकाले दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । एम्बुलेन्सको भाडा गाउँपालिका आफैंले बेहोर्छ । विरामीले निशुल्क पौष्टिक आहारा पाउँछन् । झापाको अर्जुनधारा नगरपालिकामा तीनवटा एम्बुलेन्सले कोरोना सङ्क्रमित ओसार्छन् । धरान विराटनगरसम्म लैजाने गरी ती एम्वुलेन्स सञ्चालनमा ल्याइएको छ । एम्वुलेन्स पर्याप्त नहुँदा नगरका अरु सवारी प्रयोगमा ल्याइने गरेको छ ।
शिवसताक्षी नगरपालिकाले पनि सङ्क्रमितका लागि एम्वुलेन्स सेवा निशुल्क गरेको छ । जनप्रतिनिधि चढ्ने सवारी पनि सङ्क्रमितलाई अस्पताल लैजान प्रयोग गरिएका छन् । बिर्तामोड नगरपालिकाले सङ्क्रमितलाई चेकजाँच वा उपचारका लागि अस्पताल जान चारवटा अटोरिक्सा निशुल्क उपलब्ध गराएको छ ।
आकस्मिक बिरामी परेमा अस्पतालसम्म पु¥याउनका लागि यातायातको अभाव हुन नदिन नगरपालिकाले अटो रिक्सा भाडामा लिएर सञ्चालनमा ल्याएको हो । बिहान ६ बजेदेखि राति ९ बजेसम्म जिल्ला ट्राफिक कार्यालयमा सेवाको लागि तयारी अवस्थामा रहेका ती अटो रिक्साले सङ्क्रमित बोकिरहेका छन् ।