अफगानिस्तानमा खाद्य संकट चुलिँदै




एजेन्सी–राष्ट्रसंघले अफगानिस्तानमा एक महिनाभित्र खाद्य संकट निम्तिने चेतावनी दिएको छ । खाद्य अभावमा तीनमध्ये एकजना अफगानी भोकै हुने चेतावनी राष्ट्रसंघले दिएको हो । दुई साताअघि काबुललाई कब्जा गरेको तालिवानले नयाँ सरकार गठनको तयारी गरिरहेका बेला राष्ट्रसंघको यस्तो चेतावनी आएको हो ।

‘मानवीय दृष्टिकोणबाट हेर्दा अफगानिस्तानको अवस्था निकै तनावपूर्ण देखिन्छ,’ अफगानिस्तानका लागि राष्ट्रसंघका मानवीय सहयोगसम्बन्धी संयोजक रमिज अलाकवारोभ भन्छन् । देशका आधाभन्दा बढी बालबालिका पर्याप्त खानेकुरा खानबाट वञ्चित भएको उनले बताए ।

अफगानिस्तामा खानेकुराको मूल्य ५० प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, पेट्रोलमा प्रतिलिटर ७५ प्रतिशतसम्म वृद्धि भएको छ । दातृ सहयोग बन्द हुँदा अधिकांश सरकारी कार्यालय ठप्प छन् भने कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् ।

तलिवानले अझै नयाँ सरकार गठन गर्न बाँकी छ र त्यसले अन्तर्राष्ट्रिय समर्थन पाउन मुस्किल छ । बुधबार मात्र तालिवानले आफूले कब्जामा लिएका सैन्य सामग्री प्रदर्शन गर्दै कन्दाहरमा परेड खेलेका थिए ।