
झापा– कार्तिकमा सगरमाथा आधार शिविर सम्मको यात्रामा आउँदै गरेका विश्व बिख्यात फिल्ममेकर तथा भ्लगरहरुको साथमा नेपालको प्रतिनिधित्व गर्दै उक्त पदयात्रामा सहभागी हुन एक सक्षम नेपाली फिल्ममेकर र भ्लगरको खोजी गर्ने उद्देश्यले नेपाल भ्लग च्यालेञ्ज आयोजना गरिएको छ ।
निश्चल बस्नेत, सिसन बानियाँ, रोहित शाक्य र मिलन थापाको निर्णय मन्डलीले सातै प्रदेशबाट एक–एक जना फिल्म मेकर र भ्लगर चुनिनेछन् । चुनिएका सात जनामध्येबाट एक बिजेता भोटिङको माध्यमबाट चुनिनेछ । बिजेताले १० लाख नगद पुरस्कार पाउनेछ भने सम्पूर्ण खर्च बेहोरिएको वर्ल्ड भ्लग च्यालेञ्जमा सहभागी पनि हुन पाउनेछ ।

कार्यक्रमका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामा, विश्व बिख्यात आरोही कामी रिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, फिल्म निर्देशक निश्चल बस्नेत तथा आयोजक संस्था पार्टी नेपालका अध्यक्ष श्री गुरुङले उक्त भिडियो च्यालेञ्ज प्रतियोगिताको उद्घोष गरेका हुन् ।
१८ बर्ष पुरानो पार्टी नेपाल नेपालको अग्रणी एभेन्ट म्यानेजमेन्ट कम्पनीमध्ये एक हो, जसले पार्टी नेपाल नामक मासिक म्यागजिन पनि प्रकाशन गर्दै आएको छ । च्यालेन्जमा सहभागी हुन नेपाल भ्लग च्यालेजको वेब साइटमा सेप्टेम्बर १० तारिक देखि २० तारिकभित्र आफ्नो १ देखि ३ मिनेट लामो भिडियो बुझाउन सकिनेछ ।