काँकडभिट्टा नाका अझै खुलेन, सीमाक्षेत्रमा अन्योल



काँकडभिट्टा– भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने सरकारी निर्णय अझै कार्यान्वयन भएको छैन्। चार दिनअघि मन्त्रिपरिषद् बैठकले भारतसँग जोडिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

सञ्चारमाध्यममार्फत नाका खोलिएको सूचना सार्वजनिक भए पनि औपचारिक निर्देशन नआएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । डीएसपी सुनिल दाहालले नाका खोल्ने विषयमा माथिल्लो निकायको निर्देशन पर्खिरहेको बताउनुभयो ।

सरकारी निर्णय कार्यान्वयन नहुँदा सीमाक्षेत्रमा अन्योल बढेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना बताउनुहुन्छ । सरकारले निर्णय गरे पनि त्यसको कार्यान्वयन र व्यवस्थापनमा ढिलाइ भएको हुन सक्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

सरकारले सीमा नाका खोल्ने निर्णय सार्वजनिक गरिरहँदा सीमाक्षेत्रमा आउजाउ गर्नेकाे भीड बढेको छ । तर, सरकारी निर्णयअनुसार नाका नखुल्दा नागरिक अन्योलमा छन् । भारतले पनि सीमावर्ती आउजाउलाई अझै खुकुलो बनाई सकेको छैन्।

पूर्वीनाका काँकडभिट्टाबाट भित्रिने नेपाली र भारतीय नागरिक कोरोनाको जाँच रिपोर्ट र खोप कार्डका आधारमा आउजाउ गरिरहेका छन् । नियमित जाँचको प्रक्रिया पूरा गरेर मात्र भारतबाट आउनेहरुलाई प्रवेश दिने गरिएको ल्याव टेक्निसियन हरिचरण सापकोटाले बताउनुभयो ।