मल नपाएपछि झापाका किसान निराश




बिर्तामोड- कृषि सामग्री कम्पनी लिमिटेडले साउन दोस्रो सातायता रासायनिक मल उपलब्ध गराउन नसक्ने जनाएपछि धान रोपाइँका लागि ठिक्क परेका झापाली कृषक निराश भएका छन् ।

समयमा मल हाल्न नपाउँदा आगामी वर्ष उत्पादन घट्ने चिन्ताले किसानलाई पिरालेको छ । धान रोपाइँको यो मध्य सिजनमा पनि आफूले रासायनिक मल पाउन नसकेको बिर्तामोड–१० की कृषक देवीमाया भट्टराईले बताइन् ।

झापामा कृषि सामग्री कम्पनी लिमिटेडको बिर्तामोडस्थित कार्यालयले विभिन्न सहकारी संस्थाहरुमार्फत किसानलाई मल दिँदै आएको छ । सहकारी संस्थाले कोटा छुट्याएर किसानलाई मल वितरण गर्दै आएका छन् ।

असार नलाग्दै झापाका कृषकले रासायनिक मलको जोहो गर्ने तयारी गरेका थिए । कृषि सामग्री कम्पनी लिमिटेडले कोटा अनुसारको मल उपलब्ध गराउन ढिलो गरेपछि किसानले रोपाइँ पनि ढिलै सुरु गरेका छन् ।

रासायनिक मलमा भइरहेको कालोबजारीले आफूहरु मर्कामा परेको किसानहरू बताउँछन् । ‘बोराको पाँच हजार तिर्दा पनि पाइदैन’ अर्जुनधाराका किसान भुपेश राईले भने, ‘कोटामा अलिकति दिन्छ भन्छन्, मैले त आशा मारिसकेँ ।’

मल माग्दै आउने किसानको संख्या ठूलो छ । तर, बिक्रेताले पनि किसानले भने अनुसार मल दिन सकिरहेका छैनन् । मल अभावले किसानमा निराशा छाएको मल बिक्रेता झापा हल्दीवारीका सुरज साह बताउँछन् ।

कृषि सामग्री कम्पनी लिमिटेडको बिर्तामोडस्थित कार्यालयले पहिलो चरण झापाका किसानहरुका लागि सहकारी संस्थामार्फत कोटा निर्धारण गरी रासायनिक मल वितरण गरिसकिएको जनाएको छ ।

पाँचथर, ताप्लेजुङ र तेह्रथुम लगायतका पहाडी जिल्लाका किसान भने रासायनिक मलका लागि भर्खर सम्पर्कमा आउन थालेको लिमिडेका शाखा प्रमुख कमल पोखरेलले बताए ।

‘प्रादेशिक कार्यालय विराटनगरमार्फत पहिलो चरणमा उपलब्ध भएको कोटा अनुसारको मल झापाका लागि वितरण भइसकेको छ’ पोखरेलले भने, ‘बाँकी रहेका किसानले साउन दोस्रो सातासम्म पर्खिनु पर्छ । ’