नेपालको पहिलो र उत्कृष्ट संस्था भएको सहाराको दावेदारी




बिर्तामोड- सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २६ वर्षपछि नेपालको पहिलो र उत्कृष्ट संस्थाका रुपमा आफ्नो दावेदारी घोषणा गरेको छ । २६ औँ वार्षिक साधारण सभाको अवसरमा सहाराले औपचारिक रुपमा आफ्नो दावेदारी प्रस्तुत गरेको हो ।

शुक्रबार संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्न चारपानेस्थित मुख्य कार्यालय आयोजित पत्रकार सम्मेलनमा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सदस्य संख्या, पूँजी तथा सदस्य संरक्षण, समुदाय प्रतिको चासो लगायतका सम्पूर्ण हिसाबले सहारा मुलुकको पहिलो र उत्कृष्ट संस्था भएको बताए ।

कार्यकारी निर्देशक गिरीले २०८८ सम्म एक खर्बको वासलात बनाउने बताउँदै चालु आर्थिक वर्षमा सहाराले विश्वस्तरमा सञ्जाल निर्माण गर्ने, रोजगार शाखा स्थापना गर्ने र सामाजिक व्यवसाय सञ्चालन गर्ने लगायतका कार्यक्रम घोषणा गरेको जानकारी दिए ।

सहाराले गत आर्थिक वर्षमा ४९ करोड ७७ लाख रुपैयाँ नाफा गरेको छ । नाफाबाट सदस्यलाई लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट ३० करोड १५ लाख रुपैयाँ वितरण गर्ने तयारी छ ।

सहाराले ७९ वटा सेवा केन्द्रमार्फत वित्तिय सेवा प्रवाह गर्दै आएको छ । सहारामा एकलाख ५९ हजार सात सय ७८ जना शेयर सदस्य आबद्ध छन् । संस्थाको शेयर पूँजी एक अर्ब ६३ करोड १६ लाख रुपैयाँ छ ।

सहाराले एक अर्ब ७२ करोड बाह्य ऋण लिएको छ । लगानीमा रहिरहेको ऋण १३ अर्ब छ । संस्थाले चालु आर्थिक वर्षभित्र ८९ सेवा केन्द्र विस्तार गर्ने जनाउँदै एक लाख ७५ हजार सदस्य बनाउने लक्ष्य राखेको छ ।