
भद्रपुर– पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपका सबै खेलमा सरकारी तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क प्रवेश दिइने भएको छ ।
गोल्डकपको सचिवालयमा बुधवार स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिसँग भएको छलफलमा यस्तो निर्णय भएको हो ।
गोल्डकपका अध्यक्ष दीपेश ढकालले भद्रपुर नगर क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीले रंगशाला प्रवेश गर्दा शुल्क तिर्नु नपर्ने बताए । महासचिव जीवनकुमार श्रेष्ठका अनुसार विद्यालयले आलोपालो गरेर प्रतियोगिताका बेला बिद्यार्थी पठाउनुपर्ने छ ।
सामुदायिक विद्यालयका विद्यार्थीलाई खेलकुदसँग जोड्न सहज होस् भनेर प्रवेश निःशुल्क गरिएको सल्लाहकार टीकाराज ढकालले बताए । भद्रपुर नगरपालिकामा सबै तहका गरेर ३१ वटा सामुदायिक विद्यालय रहेका छन् ।
मेची रंगशालामा फागुन ७ देखि १६ गतेसम्म भद्रपुर झापा गोल्डकप आयोजना गर्ने तयारी छ । नेपालका ए डिभिजनका क्लवहरु तथा भारत, भूटान तथा क्यामरुनसमेतका चर्चित टीमले प्रतियोगितामा भाग लिने छन् ।