
बिर्तामोड- इलामको रोङ गाउँपालिकाले तरकारी उत्पादनका लागि एक करोड रुपैयाँ बजेट प्राप्त गरेको छ । अर्थ मन्त्रालयले व्यवसायिक तरकारी खेतीका लागि उक्त रकम गाउँपालिकालाई उपलब्ध गराएको हो ।
पूर्व अर्थमन्त्री जनार्दन शर्माको विशेष चासो र इच्छाशक्तिबाट उक्त बजेट प्राप्त भएको गाउँपालिकाका अध्यक्ष मनिकुमार तामाङले बताए । उनका अनुसार पूर्व शर्माले तरकारी उत्पादनबाट आत्मनिर्भर हुनु पर्नेमा जोड दिँदै आएका छन् ।
गाउँपालिका अध्यक्ष तामाङले सहरी क्षेत्र लक्षित ताजा तरकारी उत्पादनका लागि रोङका किसानले उक्त रकम पाउने जानकारी दिए । रोङ गाउँपालिकाले तरकारी उत्पादनका लागि किसानलाई प्रोत्साहित गर्दै आएको छ ।