अदालतको फैसलालाई सम्मान गर्छु : रवि लामिछाने



झापा-सर्वाेच्च अदालतको फैसलापछि सांसद पद गुमाउन पुगेका रवि लामिछानेले अदालतको फैसलाप्रति आफ्नो सम्मान रहेको बताएका छन् । उनले अदालतको फैसलालाई स्वीकार्दै अगाडि बढ्ने बताएका हुन् ।

गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय नरहेको र अदालतको फैसलालाई आफूले स्वागत गरेको बताए ।

‘अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने’, उनले भने । यसअघि शुक्रवार साँझ नागरिकतासम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गरेपछि लामिछानेको मन्त्री तथा सांसद पद दुवै गुमेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले सो ठहर गरेको हो ।