बिर्तामोड नगरपालिकाले पाँचवटा वडामा टुंग्यायो जग्गाको वर्गीकरण




झापा- बिर्तामोड नगरपालिकाले लामो समयको प्रक्रिया र प्रयत्नपछि नगरका पाँचवटा वडामा जग्गा वर्गीकरणको काम सकेको छ । १ देखि ५ सम्मको वडामा वर्गीकरणको टुंगो लागेको हो ।

स्थानीय भू–उपयोग परिषद्को शनिवार बसेको बैठकले पाँचवटा वडाको जग्गा वर्गीकरणको काम टुंगो लगाएको मेयर पवित्रा महतारा प्रसाईले बताइन् । परिषद्को अध्यक्ष मेयर हुने कानुनी व्यवस्था छ ।

भू–बनौट, भूमिको क्षमता तथा उपयुक्तता, मौजुदा उपयोग र आवश्यकताका आधारमा जग्गालाई भूउपयोग ऐन २०७६ को दफा ४ को उपदफा १ बमोजिम वर्गीकरण गर्ने व्यवस्था छ ।

मेयर प्रसाईले आवासीय र व्यवसायिक क्षेत्रमा परेका जग्गालाई कृषिमा राख्न इच्छुक भए परिवर्तन गर्न सकिने बताइन् । यसका लागि नगरपालिकाले आइतबारदेखि सात दिनको समय दिएको छ ।

६ देखि १० सम्मका वडाको पनि जीआइएस प्रणालीको माध्यमबाट धमाधम काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार न्यौपानेले बताए । वर्गीकरण टुंगिएका वडाको कित्ताकाट माघ अन्तिम सम्ममा खुलाउने तयारी छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जारी गरेको भू–उपयोग नियमावली अनुसार जग्गालाई विभिन्न १० वटा समूहमा वर्गीकरण गरिएको छ ।

जसमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्व र आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्र छन् ।

नगरपालिकाले कृषि क्षेत्रमा वर्गीकरण हुने जग्गामा मालपोत÷भूमिकर लागु गर्नेछ भने अन्य व्यवसायिक, आवासीय र औद्योगिक क्षेत्रमा भएको जग्गामा सम्पति कर लागु गर्नेछ ।