
शिवसताक्षी–झापाको शिवसताक्षीस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका विद्यार्थीले विद्युतीय गाडी निर्माण गरेका छन् । कक्षा ७ मा पढ्दै गरेका प्रसन्न दवाडी, निशान शंकर र सन्देश बरालले गाडी निर्माण गरेका हुन् ।
आफ्नै स्रोत साधन र लगानीमा तीन जना विद्यार्थीले विद्युतीय गाडी निर्माण गरेको विद्यालयका प्रधानाध्यापक लालमणि सुवेदीले बताए । करिब १ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको विद्युतीय गाडी प्रतिघण्टा ३० किलोमिटरको गतिमा कुद्न सक्छ ।
विद्यालयको ५४ औँ वार्षिकोत्सवको अवसरमा मंगलवार गाडीको उद्घाटन गरिएको छ । नगर प्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नगरमाया कार्कीले संयुक्तरुपमा गाडीको उद्घाटन गरेका हुन् । विद्यार्थीले उक्त गाडीमा राखेर नगर प्रमुख थोप्रालाई दूधे बजार परिक्रममा गराएका छन् ।
गाडीमा तीनजना सवार गर्न सकिने विद्यार्थी प्रसन्न दवाडीले बताए । दवाडीका अनुसार गाडीमा आठ सय वाटको डिसी मोटर, १२ भोल्टका चारवटा ब्याट्री र कन्ट्रोलर राखिएको छ । गाडी बनाउन कार्टुन, प्लाइलगायतका सामान प्रयोग गरिएको छ ।
नगप्रमुख थोप्राले सामुदायिक विद्यालयमा अध्ययन गर्ने यस्ता प्रतिभाहरुलाई थप प्रोत्साहित गर्नुपर्ने बताए । उनले नगरको तर्फबाट २० हजार सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।