‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत



मेचीनगर-‘मेमोरी किङ’ अर्पण शर्मालाई लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले मंगलवार पुरस्कृत गरेको छ । प्रतिष्ठानको चौथो बार्षिकोत्सवको अवसरमा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरेको हो ।

स्मरण शक्तिमा विश्वव्यापी रेकर्ड राखेर गिनिज बुकमा नाम लेखाउन सफल कीर्तिमानी व्यक्तित्व शर्मालाई ३१ हजार नगरदसहित पुरस्कृत गरिएको छ । मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्ले पनि पुरस्कृत भएका छन् ।

सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न विगत चार वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारका लागि प्रतिष्ठानको नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

कार्यक्रमका मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी, बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख विष्णु प्रसाई, मेमोरी किङ शर्मा, प्रतिष्ठानका सदस्य मोहन काजी, समाजसेवीहरु शिव पौडेल, डिल्ली खतिवडा, हरिनारायण भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मनोज बानियाँले र सञ्चालन सचिव डम्बरबहादुर देउजाले गरेका थिए ।