Home / राजनीति / भ्रष्टचारीलाई टिकट नदिए कसरी जितिन्छ चुनाव ?

भ्रष्टचारीलाई टिकट नदिए कसरी जितिन्छ चुनाव ?

भ्रष्ट, दुष्ट, घुसिया, बलात्कारी, अपहरणकारी, तस्कर, अपराधी… आदि विशेषणले सुसज्जित व्यक्तित्वका धनी महानुभावहरुले निर्वाचनमा उम्मेदवारी दिन नपाउने भन्ने कुरा कस्ले कुन स्वार्थपूर्तिका निम्ति संसदीय निर्वाचनको मुखैमा आएर उराल्दैछ ? जत्रै र जस्तै अपराध गरे पनि अदालतले प्रमाणित गरेर, कागज र्पुयाएर सजाय नदिएसम्म कसैलाई अपराधी भन्न पाइँदैन । अदालतले दण्ड दिएर सजाय भुक्तानी गरिसकेपछि उसको अपराध चार दिनमा चोखिएझैँ स्वत: पखालिएर जान्छ । यसको अर्थ जेलमा बसेका बाहेक खुल्ला आकाश र धरतीमा विचलन गर्ने कसैलाई पनि अपराधी भन्न मिल्दैन । दुनियाँले त्यत्तिकै भनेर – गीत गाएर मात्रै हुन्छ ? यी दुनियाँले भनेका अप्रमाणित अपराधीहरु साँच्चै निर्वाचनमा भाग लिन नपाउने हो भने, राजनीतिमा छिर्न नपाउने हो भने अन्त कहाँ जानु ? ठाउँ देखाइदिनु र्पयो नि ? बाटो अतिक्रमण गरेर पसल थाप्नेहरुलाई त त्यहाँबाट हटाउन खोज्दा पुलिससँगै आइलाग्न खोज्दै हामीलाई बस्ने ठाउँ देखा भन्छन् भने राजनीतिकर्मीलाई पनि चुनाव लड्न नपाउने हो भने अर्को क्षेत्र देखाइदिनु र्पयो नि ! आदि… के-के जाती भन्दै एकजना नेता रेडियोमा अन्तरवार्ता दिइरहेका थिए ।

चुनावको मुखमा आएर यस्ता गेजु गाँजे, गुल्चे कुरा निकालेर कसै-कसैले हल्ला मच्चाउन थालेका छन् । सोझा सिधा मान्छेले यसो कुरो सुन्दा ठिकठिकै लागे पनि यसभित्र ठुलो षड्यन्त्र छ । खतर्नाक राजनीति छ । विरोधीहरुको कपट लुकेको छ । यस्ता सस्ता बजारे हल्ला फिजाएर जनतालाई अल्मल्याएर आफूतिर मत आकर्षण गर्ने धुर्त बुद्धि मात्रै हो यो भने उनी भन्दै थिए ।

कुनै समयमा कसैले र्गयो होला केही भ्रष्टाचार ! कुन मानसिकतामा, कस्तो परिस्थितिमा, कति मान्छेलाई साँधेर, मुस्किलले केही र्गयो भन्दैमा जिन्दगीभर चुनाव लड्न नदिनु ? सधैँ छि: छि: दुर दुर गर्नुपर्छ भनेर कुन नियम कानुन विधानमा लेखिएको छ ? राजनीतिमा त्यस्तो अलिअलि भइहाल्छ । यस्ता कुरालाई नो माइण्ड गर्नु पर्दैन ? भ्रष्टाचार जस्तो जाबो कुरालाई अपराध मान्ने हो भने कसरी चल्छ राजनिति ! कसरी बच्छ प्रजातन्त्र लोकतन्त्र ? हाम्रो जस्तो पार्टीमा यस्ता मान्छेलाई अपराधी मान्ने हो भने उम्मेद्वारको अनिकाल लाग्छ । राजनीतिमा भ्रष्टाचार अपराध हुँदैन । यो स्वभाविक कुरा हो । छिमेकी मुलुकतिर पनि कत्रा कत्रा भ्रष्टहरुले निर्वाचन लड्ने गरेको अभ्यास हामी पाउँछौँ । यो एउटा सामान्य परम्परा हो । यस्ता छोटामोटा कुरा कोरलेर मुलुकलाई अल्झाउन पाइन्छ ? भ्रष्टाचारीलाई चुनाव लड्न दिनु हँुदैन भन्ने कुरा प्रतिगमनकारी हो, पञ्चायत फर्काउने, राजा फर्काउने कुरा हो । हो, यस्ता कुरा उछाल्ने मान्छेलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्छ । भ्रष्टाचारको विरोध गर्नेलाई पनि अख्तियारले कार्यवाही गर्नु पर्छ ।

लोकतन्त्रमा नागरिक अधिकार, मौलिक हक, वैयक्तिकता, निर्बन्ध, स्वच्छन्दता, स्वतन्त्रता अपरिहार्य कुरा हुन् । कसैले भ्रष्टाचारै गरे पनि कसैले उजुरी गरेन, फउ परेन, प्रमाण पुगेन, घुस लिएको भरपाई फेला परेन भने त्यो उसको बठ्याइँ हो, चलाखी हो, राजनीति हो । दुनियाँले रिस गरेर हुन्छ ? कुनै एक समयमा भ्रष्टाचार र्गयो भन्दैमा जिन्दगी भर उम्मेद्वार बन्नबाट बञ्चित गर्दा उसको बुढेसकालको मानवअधिकार हनन हुँदैन ? यो सब विरोधी बेइमान, राष्ट्रघाती स्वार्थीहरुले चलाएको चुनावी प्रोपोगण्डा मात्रै हो भनेर ती नेता अस्पष्टीकरण दिइरहेका थिए ।

देशमा कस्ता कस्ता योग्य, दक्ष, शिक्षित, विद्वान, सक्षम मान्छेहरुले भ्रष्टाचार गरेका होलान् । त्यसलाई अपराध मानेर साँच्चै निर्वाचनबाट बञ्चित गर्ने हो भने के ढाँक्रे, हली, गोठाला, घाँसी, किसान, मजदुरहरुलाई स्वच्छ र निरपराधीका नाउँमा सांसद नेता मन्त्री प्रधानमन्त्री बनाउने त ? यिनले विदेशमा गएर विद्वानहरुले अंग्रेजीमा लेखिदिएको वाचन गर्न सक्छन् ? निकै मै हुँ भन्नेहरुले त अंग्रेजी पढ्न नजानेर देशकै शिर निहुराइ दिन्छन् भने अरुको के दशा होला ! देश चलाउन खेलाँची छ ?

संसारमा खोजी नै गर्ने हो भने भ्रष्टचारीहरु निर्वाचन लडेको प्रशस्तै उदाहरण पाइन्छ । भ्रष्टाचार भन्ने कुरो कहिले काहीँ घटबढ हुने मात्रै हो हट्न चाहिँ कहिल्यै हट्तैन । अझ मलाई नै सोध्नु हुन्छ भने त, भ्रष्टचार हट्नु पनि हुँदैन । हात चाट्न नपाए भोलिदेखि कसले मह काड्छ । राजनीतिमा कसरी आकर्षण बढ्छ, कसरी प्रभाव जम्छ ? अहिले देशमै थामिएर बसेका यिनै राजनीतिक समाज र कर्मचारी समाजका मान्छे छन् । यी पनि सर्वसाधारण जस्तै खाडी राष्ट्रतिर भाँसिए भने देश कसले सञ्चालन गर्छ ? कृषकका खेत बाँझिए झैँ राजनीति पनि बाँझिदैन ? त्यसै त अहिले राजनीति पनि खेती जस्तै कसैलाई अँधिया-ठेक्का दिने बेला भइसकेको छ । अपराधी भ्रष्टहरुलाई निर्वाचन लड्न नदिने भन्ने कुरै आउँदैन बरु मुद्दासुद्दा हालेरै भए पनि अदालतबाट सेर्गेम गराएर चोख्याएर भए पनि चुनावमा भिडाउनु पर्छ । राजनीति समाजमा स्वच्छ मान्छे छैनन् भने भएकैलाई स्वच्छ पार्नु परेन ! वाइयात् कुरा गरेर मात्रै हुन्छ ? भन्दै उनी अन्तरवार्ता फिट्तै थिए ।

भन्नलाई पो सजिलो छ त ! भ्रष्टाचार गरेर पैसा सोहेारेर थुपार्न नसक्ने मान्छेले अहिलेको निर्वाचन कसरी लड्न सक्छ ? भिटाको दाम बढेझैँ, महँगी आकाशिए झैँ उम्मेदवारको टिकटको दाम पनि छोइनसक्नुको छ । पार्टीलाई चन्दा टकर््याउनु र्पयो, नेता नेतिनीलाई सिराने लाइदिनु र्पयो । टिकट पाएर मात्रै हुँदैन सारा दुनियाँलाई भोज भतेर लाउनु र्पयो, खोया खाजा गराउनु र्पयो, पार्टीका छाप लागेका गन्जी कट्टु बाँड्नु र्पयो । वर्षाको समयमा चुनाव भए छाता-रेनकोट, हिउँदमा भए ज्याकेट वितरण गर्नुर्पयो । अर्को पार्टीको सक्रिय कार्यकर्तालाई पाँच-सात मुठा घाँस हाल्दिएर मुख बुजो लगाएर निस्क्रिय बनाउनु र्पयो । फेटावाला तिघ्रे, पाखुरे, ठिटाठिटीहरुको भट्भटेमा तेल हाल्दिनु र्पयो । यतिले मात्रै हुँदैन मतदाताका हातमा दुई-तीन हजार नहाल्दिए उसले किन मत दिन्छ ? सबैमा यस्तै बानी परेको छ । यसरी सबैलाई प्रफुल्ल बनाएर मात्र निर्वाचन जित्न सम्भव छ । गरिबगुर्वा, निर्धन, थाङ्ने, हरिनाशे, झुत्रेहरुलाई स्वच्छ सक्षम छन् भनेर टिकट दिनु हो भने गरिब बाहुनलाई बुढो हात्ती दान दिए जस्तै हुन्छ भनेर आफ्ना बलिया तर्क नेता पेश गर्दै थिए ।

रेडियो पत्रकारले नेतालाई घुमाई घुमाई सोध्यो । तर पनि नेताको कुतर्कका अगाडि रेडियो पत्रकारको तर्कले हार खाइरहेको थियो । उम्मेद्वार भनेको जित्न सक्नेलाई दिनुपर्छ । पैसा नभएको सामान्य मान्छेले चुनाव जित्नै सक्तैन । गुण्डा, डन, तस्कर, माफियाहरुको सन्तुलन मिलाएर चुनाव जित्न सजिलो छ ? भ्रष्टाचारै नगर्ने सँग त्यत्रो बिघ्न पैसा कहाँबाट आउँछ ? खोजीखोजी भ्रष्टलाई नै टिकट दिनुपर्छ । भ्रष्टाचारीलाई टिकट नदिए कसरी जितिन्छ चुनाव ? पार्टीलाई, नेता नेतिनीलाई कसले पैसा बर्साउँछ ? स्वच्छ मान्छेको उपाय छैन । भ्रष्टाचार गर्ने चुनाव लड्ने, चुनाव जित्ने भ्रष्टाचार गर्ने भनेको राजनीतिक चक्र नै हो … इत्यादि के-के भनेर अन्तरवार्ताकै क्रममा नेता बौलाउन थाल्यो । मलाई पनि कुरा सुनेर रनाहा चल्यो, रेडियो प्लाट्ट मार्दिएँ ।

भोलिपल्ट बिहान समाचार सुनेपछि म छाँगाबाट खसे जस्तै भएँ । भ्रष्टाचारी अपराधीलाई निर्वाचन लड्नै नदिने कानुन पास भयो अरे ! अब देश बर्बाद हुने भयो । पैसाको सिराने लाएर सुतेका, निर्वाचनमा मुठी खोलेर खर्च गर्न सक्ने भ्रष्टहरुलाई चुनावबाट बञ्चित गरेपछि आफ्नो पसिनाकै कमाइ त कसले फुक्न सक्छ ? फेरि भ्रष्टाचार गर्न साँच्चै नपाउने हो भने चुनावमा करोडौँको लागनी कुन मुर्खले गर्ला ? जाबो एक डेढ लाख रुपैयाँ त सिमानामा सुपारीका पोका ओसार्ने मजदुरले पनि कमाउँछन् । यस्तै हो भने अब संसदमा उठ्ने, मन्त्री बन्ने मान्छेको अनिकाल लाग्छ । प्रधानमन्त्री पनि स्कूलको हेडमास्ट, क्याम्पसको चिफ जस्तो घाँडो हुन्छ । खाई नपाई छालाको टोपीलाई ! देशलाई नसुहाउने कानुन पास गरेछन् ।

Facebook Comments

Check Also

दे‌शको‌ विकास हुन नसके‌को‌ मन्त्रीको‌ संख्या कम भएर‌ै‌ हो‌ !

चौ‌वन्न जना मन्त्रीले‌ मात्रै‌ कसर‌ी दे‌श बनाउन सक्छन् ? मन्त्रीको‌ संख्या बढाउन किन यसर‌ी कञ्जुसी …

Leave a Reply

Your email address will not be published.