Home / विशेष / शिक्षक नहुँदा पल्टिएन गणित विज्ञानको पाना

शिक्षक नहुँदा पल्टिएन गणित विज्ञानको पाना

कोकिला ढकाल

इलाम । सन्दकपुर गाउँपालिकाको जमुनास्थित भगवती माविमा अचेल विज्ञान विषयको पढाइ हुँदैन । कक्षा ९ र १० का विद्यार्थीले त विज्ञान विषयको पुस्तक नखोलेको पाँच महिना बित्यो ।

विज्ञान पढाउने बिएससी शिक्षक विद्यालयमा नहुँदा यहाँका विद्यार्थीलाई कसरी पढाउने भन्ने समस्या प्रधानाध्यापकलाई आएको छ । अझ कक्षा १० का विद्यार्थी आउँदो चैतमा एसइइ परीक्षा दिँदैछन् । यस विद्यालयमा कक्षा १० मा ३५ विद्यार्थी अध्ययनरत छन् । ‘कुनै उपाय छैन । बिएस्सी शिक्षक नहुँदा पढाइ ठप्प छ । शिक्षक नियुक्त गर्न निर्वाचन आचारसंहिताले दिएन । कक्षा ९ र १० का विद्यार्थीलाई अत्यत्नै गाह्रो छ’, विद्यालयका प्रधानाध्यापक जनकलाल सापकोटाले भने, ‘गणित विषय पनि बिएड गरेका आइएस्सी शिक्षकलाई पढाउन लगाएका छौँ । मावि तहका शिक्षक छैनन् ।’

२ नम्बर प्रदेशको स्थानीय तह निर्वाचन, मंसिरमा तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघि विद्यालयमा रिक्त पदहरुमा शिक्षकको पदपूर्ति हुने सम्भावना न्यून छ । शिक्षक नियुक्त गर्ने सम्भावना नभएपछि अब तीन महिनाका लागि विद्यालयले निजी स्रोतमा शिक्षक राख्ने सोच बनाएको छ ।

‘निजीबाट शिक्षक राख्ने सोच बनायौँ तर कसले आएर दुईतीन महिना पढाइदिन्छ होला र ? फुर्सदिला र योग्य व्यक्ति भेट्नै गाह्रो छ,’ प्रअ सापकोटाले भने । निर्वाचन आचारसंहिताकै चपेटामा सूर्योदय नगरपालिकास्थित गोर्खे मंगलबारेमा रहेको सिंहदेवी मावि पनि परेको छ । यो विद्यालयमा पनि आइएस्सी र बिएस्सी दुवै शिक्षक छैनन् । यहाँ कार्यरत शिक्षक स्थायी भएर अन्यत्रै गएपछि मावि र निमावि तहमा गणित र विज्ञान विषयको पढाइ बन्द छ । ‘निमावि र मावि दुवै तहमा शिक्षक छैनन् । नयाँ शिक्षक राख्न पनि पाइएन । यो त काबुभन्दा बाहिरको परिस्थिति भयो । हामी आफूले केही गर्न नसक्ने ठाउँमा छौँ’, सिंहदेवीका प्रधानाध्यापक अमृतकुमार पाण्डेले भने, ‘विद्यार्थीले गणित र विज्ञान विषय पढ्न होइन किताब खोल्न पनि पाएका छैनन् । शिक्षक नै नहुँदा विद्यार्थी आफले त के पढ्लान् र ?’

जोगमाईको ज्ञानोदय माविको पनि समस्या उही छ । माविमा विज्ञान विषयको शिक्षक नै छैनन् । ‘विज्ञान, गणित पढाउन समस्या छ । शिक्षक आउने टुङ्गो छैन,’ विद्यालयका प्रधानाध्यापक गोविन्द तिम्सिनाले भने । यी तीन विद्यालय मात्र होइन । लुम्दे, जस्बिरे, जितपुर, नयाँबजारका गरी सात विद्यालयमा गणित र विज्ञान दुवै विषयका शिक्षक छैनन् । शिक्षक नहुँदा विद्यालय र विद्यार्थीलाई मात्र असर छैन । विद्यार्थीको सिकाइ उपलब्धि पनि कमजोर हुनुले जिल्लाको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्ने प्रमुख कारक पनि छ । २०७२ को शैक्षिकसत्रमा भन्दा २०७३ को शैक्षिकसत्रमा सिकाइउपलब्धि कम भएको इलाममा २०७४ मा भने शिक्षक नै नभएर पढाइ नहुनुले सिकाइको अवस्था कुन स्तरमा झर्छ भन्ने सोझो अनुमान लगाउन पनि सकिन्छ ।

जिल्ला शिक्षा कार्यालय इलामका अनुसार २०७२ मा गणित विषयमा कक्षा ३ मा सिकाइउपलब्धि ५१ प्रतिशत थियो । २०७३ मा यो घटेर ४५.१ प्रशितमा झरेको छ । कक्षा ५ मा गणित विषयको २०७२ मा सिकाइ उपलब्धि ४३ प्रतिशत थियो । २०७३ मा कक्षा ५ को गणितको सिकाइ उपलब्धि ३८.९ प्रतिशतमा झरेको छ । कक्षा ८ मा २०७२ मा गणित विषयको सिकाइ उपलब्धि २६ प्रतिशत र विज्ञानमा ४३ प्रतिशत छ । २०७३ मा कक्षा ८ को गणितको सिकाइ उपलब्धि गणितमा २०.५ प्रतिशत र विज्ञानमा ३६.३ मा झरेको छ । २०७३ मा कक्षा ९ को गणित विषयमा सिकाइ उपलब्धि २४ प्रतिशत, विज्ञानमा ३७ प्रतिशत, अंग्रेजीमा ३८ प्रतिशत, नेपालीमा ४२ प्रतिशत र समाजिकमा ३७ प्रतिशत रहेको छ । बर्सेनि घट्दो अवस्थामा रहेको सिकाइ उपलब्धि कुनै विषयमा पनि ५० प्रतिशत नाघेको देखिँदैन । सामुदायिक विद्यालयको पढाइ यसरी गिर्दो अवस्थामा देखिनुमा देशको शिक्षा नीति नै समयसापेक्ष नभएको कारण रहेको जानकार बताउँछन् ।

सरकारले अध्यापन अनुमतिपत्रलाई अनिवार्य गराएपछि गत शैक्षिकसत्रमै विषयगत शिक्षकको अभाव झेल्दै आएका विद्यालय र विद्यार्थीले यो शैक्षिक सत्रभरि नै शिक्षक नपाउने निश्चित छ । अध्यापन अनुमतिपत्र अनिवार्य गराइएपछि आइएस्सी र बिएस्सी गरेर बसेका व्यक्तिलाई त्यो अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्नै कठिन हुने जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम बताउँछन् । ५० अंक ल्याएर उत्तीर्ण हुने यो अनुमतिपत्र नै व्यावहारिक नभएको जिशिअ गौतमको भनाइ छ । ‘आइएस्सी र बिएस्सीले विषय नै अलग र फरक पढेका हुन्छन् ।

अध्यापन अनुमतिपत्रको परीक्षामा शिक्षासँग सम्बन्धित प्रश्न सोधिन्छ त उनीहरुले कसरी उत्तीर्ण गरुन् ?’ जिशिअ गौतमले भने, ‘यदि उनीहरू आफूले पढेकै विषयमा प्रश्नपत्र बनाइदिने हो भने केही सजिलोगरी शिक्षक आपूर्ति गर्न सकिन्छ । नत्र विद्यालयमा शिक्षक अभाव कायम रहने निश्चित छ ।’ शिक्षा ऐनको आठौँ संशोधनले जुनसुकै विषय पढेकालाई पनि अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी गराउन फुकुवा गरेको छ । तर, विषयगत प्रश्न नहुञ्जेल अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गर्न समस्या रहेको गौतमको भनाइ छ ।

Facebook Comments

Check Also

गोर्खा टेलरिङकोे दसैँ तिहार योजना ‘दौरा-सुरुवालमा लक्की ड्र’

‘नेपाली मौलिकता बचाऔँ, नेपाली पोशाक लगाऔँ’ भन्ने मान्यतालाई आत्मसात् गर्दै झापाको बिर्तामोडमा एक वर्ष पहिलेदेखि …

Leave a Reply

Your email address will not be published.