फाटेको जुत्ता सिच्युएसनल डार्क कमेडी

‘जिन्दगी रक्स’ निर्देशन गरेका निर्देशक निकेश खड्काको अर्को चलचित्र ‘फाटेको जुत्ता’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अर्जुनकुमारले निर्माण गरेको चलचित्रलाई उनले आफ्नो ‘ड्रिम प्रोजेक्ट’ बताउँदै आएका छन् । ७०० भन्दा धेरै म्युजिक भिडियो निर्देशन गरेका खड्का आफूलाई प्रमाणित गर्ने स्क्रिप्ट भएकै कारण ‘फाटेको जुत्ता’ निर्देशन गरेको बताउँछन् । सौगात मल्ल, प्रियंका कार्की, दयाहाङ राई, वर्षा राउत, कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारलाई लिएर बनाएको ‘फाटेको जुत्ता’का विषयमा केन्द्रित रहेर गरिएको कुराकानी :

जुत्ता फाटेकाहरुलाई नयाँ जुत्ता त लगाइदिनुभयो, निर्माताले चाहिँ जुत्ता फेर्ने गरी चलचित्र निर्देशन गर्नुभएको छ कि छैन ?

आफ्नो तर्फबाट मैले शतप्रतिशत काम गरेको छु । व्यावसायिक चलचित्रका लागि आवश्यक सबै खुराक दिएका छौँ । हाम्रो टिमले त चलचित्र हेरेर दर्शकको मन जित्नेमा ढुक्क छौँ । तर, यसको अन्तिम निर्णय त दर्शकले नै गर्ने हो । हेरौं कस्तो प्रतिक्रिया आउँछ ! मुख्य परीक्षा त हुनै बाँकी छ ।

अर्जुनकुमारले मेरो ड्रिम प्रोजेक्ट भन्दै आएको चलचित्र हो यो । के अर्थमा उहाँले यसो भन्नुभएको रहेछ ?

यो चलचित्रको कथादेखि नै उहाँले मनमा सजाएको फिल्म हो । उहाँका यसअगाडिका चलचित्र हेर्दा सानो क्यानभास पाइन्छ, तर यसमा उहाँले कलाकारदेखि सबै कुरामा सम्झौता गर्नुभएको छैन । स्क्रिप्टले मागेको कुरा मलाई सबै उहाँले र्पुयाइदिनुभएको छ । यो चलचित्रबाट उहाँको अपेक्षा पनि ठूलो छ । यो कथाले दर्शकलाई छुन्छ भनेर नै होला उहाँले यसलाई ड्रिम प्रोजेक्ट भन्नुभएको ।

नेपाली चलचित्र सानो बजेटमा बन्छन् भन्ने सधैँ निर्मातासँग निर्देशकको गुनासो हुने गर्छ नि ! त्यो गुनासो गर्नु परेन तपाईँले ?

उहाँ (अर्जुनकुमार) लाई मन परेको स्क्रिप्ट भएर पनि होला सायद, ठूलो क्यानभास छ । डेढ करोडभन्दा धेरै खर्च भएको छ । यसलाई लगानीको हिसाबले नेपाली चलचित्र उद्योगमा ठूलो बजेटको चलचित्रभित्र नै राख्नुपर्छ ।

चलचित्र प्रचारका क्रममा तपाईंलाई केही मुख्य कलाकारहरुले नै साथ दिएका छैनन् नि हैन ?

मलाई त्यस्तो लाग्दैन । सौगात मल्ल आफ्नो चलचित्र करियरमा सबैभन्दा धेरै पब्लिसिटीमा हिँड्नु भएको हाम्रो चलचित्रमा नै होला । उहाँ हामीसँग जहाँ पनि गइरहनु भएको छ । तपाईंले प्रियंकाको कुरा गर्नुभएको जस्तो लाग्यो । उहाँ फिजिकल्ली हामीसँग हिँड्नु भको त छैन तर उहाँले आफ्नोतर्फबाट सहयोग गरिरहनु भएको छ । फेसबुक, इन्टाग्राममा उहाँले पोष्ट गरिरहनु भएको छ । गोल्डस्टार जुत्ता दर्शकलाई लगाइदिएर । चलचित्रको टिमका हिसाबले उहाँले गरिरहनु भएको । यति मात्रै हो उहाँ फिजिकल्ली भने हामाीसँग हिँड्न सक्नु भएन ।

भनेपछि प्रियंकाले असहयोग गर्नुभएको हैन ?

हैन, त्यसलाई असहयोगको हिसाबले नबुझौं । उहाँ शारीरिक रुपमा मात्र हामीसँग साथ रहनु भएन । उहाँ बिजी कलाकार हो । एकपछि अर्को चलचित्रमा हुन्छ । ‘शत्रुगते’ मा जानु भयो । त्यसलगत्तै ‘कोलहपुर एक्सप्रेस’ मा सहभागी हुनुभयो, त्यही भएर पनि उहाँले चाहेर पनि हामीसँगै हिँड्न पाउनुभएन ।

‘फाटेको जुत्ता’ एक वाक्यमा भन्दा कस्तो चलचित्र हो ?

मनोरञ्जनात्मक चलचित्र हो । कमेडी जानराको चलचित्रलाई हामीले फरक ढङ्गले प्रस्तुत गरेका छौं । म यसलाई सिचुएसनल डार्क कमेडी भन्न रुचाउँछु । यो फिल्म हेरुन्जेल २ घण्टा रमाइलोसँग बित्छ । चलचित्र हेर्न जुन उद्देश्य लिएर दर्शक हलसम्म पुग्नुहुन्छ, त्यो सबै कुरा चलचित्रमा छ ।

पछिल्लो समय केही डार्क कमेडी र कमेडी चलचित्रले राम्रो व्यापार गरे, त्यही भएर अहिले त्यस्तै चलचित्र धमाधम निर्माण हुन थालेका हुन् ?

त्यो संयोग होला । मैले एक वर्ष अगाडि स्क्रिप्ट पाएको हुँ । हाम्रो सुटिङ सकिसकेपछि ‘२ रुपैयाँ’ लागेको पनि । हामीले कस्तो चलचित्र चलिरहेको छ र चल्छ भन्दा पनि स्क्रिप्ट मन परेर यो चलचित्र निर्माण गरेका हौँ ।

केही वर्ष अगाडि ‘लुट’ चल्यो, त्यही खाका चलचित्र बने । ‘छक्का पञ्जा’ चल्यो, त्यही खालका चलचित्र बने, जता जता बाहुन बाजे उतैउतै स्वाहा भनेजस्तै हो ?

हैन । हाम्रो चलचित्रलाई ‘छक्का पञ्जा’सँग तुलना नगरौँ । यसको त जानरा पनि मिल्दैन । स्टोरी लाइन अपमा कमेडी दिएका छौँ । ‘जिन्दगी रक्स’ पनि मैले मलाई प्रमाणित गर्न कुनमा काम गर्ने भन्ने लागिरहेको थियो । मलाई केही स्क्रिप्ट पनि आएका थिए । तर, जब म सामु यो स्क्रिप्ट आयो, यसले मलाई खिच्यो र मात्रै मैले काम गरेको हुँ । फिल्मभरि कथा र क्यारेक्टरले तपाईंलाई खिचिरहन्छ ।

पछिल्लो समय सौगात मल्ल लगातार मधेसी चरित्रमा देखिनुभएको छ, तपाइँले पनि त्यही क्यारेक्टर दोर्होयादिनुभयो, दर्शकलाई एउटै क्यारेक्टर हेरिरहँदा ‘बोर’ लाग्दैन ?

हैन, तपाईंहरुलाई यस्तो लागेको मात्रै हो । तीन अथवा ४ वटा भन्दा धेरै यो पात्रमा काम गर्नुभएको छैन । तर त्यो क्यारेक्टरमा उहाँले कमेडी क्यारेक्टर गर्नु भएको छैन । हाम्रो चलचित्रमा उहाँले कमेडी क्यारेक्टर गर्नु भएको छ । यस अर्थमा पनि चरित्र दोहोरिँदैन । उहाँलाई जब मैले कथा सुनाएँ, उहाँले म यस्तै थिएँ, यो क्यारेक्टरका लागि मैले आफूलाई ढाल्नु पर्दैन भन्नुभएको थियो । लवज एउटै हो, मधेसी एक्टर हो । उहाँ मधेसकै मान्छे हो ।

‘फाटेको जुत्ता’ले दयाहाङ राई र वर्षा राउतलाई गोप्य राख्यो । उहाँको उपस्थिति कस्तो छ चलचित्रमा ?

उहाँहरुको भूमिका महत्वपूर्ण भूमिकामा नै हुनुहुन्छ । जब दयाहाङ राई आउनुहुन्छ चलचित्रको कथा नै टुइस्ट एन्ड टर्न नै हुन्छ । वर्षा राउत आउँदा दर्शकले रमाइलो फिल गर्नुहुनेछ, उहाँको क्यारेक्टर नै त्यस्तै छ ।

सौगात, दयाहाङ, प्रियंका, वर्षा लगायतका स्टार कलाकार राखेर स्टारडम पनि बेच्न खोजेको हो ‘फाटेको जुत्ता’ ले ?

सौगात दाइलाई सोचेर नै स्क्रिप्ट लेखिएको हो । प्रियंका र कामेश्वर चौरासिया स्क्रिप्ट लेख्दादेखि नै हो । चलचित्रमा स्ट्रङ क्यारेक्टर चाहिएको थियो । त्यो पात्रका लागि दयाहाङलाई लिएका हौँ । रोलअनुसारकै पात्र चयन गरेका हौँ ।

५ दर्जन चलचित्र रिलिज हुँदा आधा दर्जन चलचित्रले यो वर्ष राम्रो व्यापार गरे, यसलाई सन्तोषजनक रुपमा लिन सकिन्छ ?

जुन चलचित्रले राम्रो कन्सेप्ट लिएर आएका छन्, ती चलचित्रले राम्रो व्यापार पनि गरेका छन्, दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । यसलाई त राम्रो ट्रेन्डका रुपमा पनि लिनुपर्छ ।

नेपाली दर्शकले कस्तो खालका चलचित्र मन पराउँछन् ?

हलमा गैसकेपछि दर्शकलाई रमाइलो हुनुपर्छ । चाहे कमेडी जानराको चलचित्र होस् या थ्रिलर अथवा माया प्रेममा आधारित चलचित्र होस् । जुन स्टोरी प्ले गर्दा पनि त्यसले दर्शकको मन बाँध्न सकिन्छ, त्यसलाई नै मन पराउनुपर्छ ।

(बाह्रखरी डटकमबाट)

Facebook Comments