कागतीबाट वार्षिक ५० लाख आम्दानीको योजना

  • विनोद सापकोटा

लेटाङ, (मोरङ) कात्तिक २९ । मोरङ लेटाङ ९ जाँतेका विनोदकुमार वस्ती चार वर्षअघि भारतको मद्रास भ्रमणमा गएका थिए । मद्रासको अधिकांश भूभागमा कागती फलेको देखेर उनी अचम्मित भए । तराईको समथर भूभागमा पनि सुन्तलाकै साइजमा कागती फलेको उनकै आँखाले देखे । उनी कल्पना गर्दै नेपाल फर्के – मेरो रुखो तीन बिघा खेतमा पनि कागती खेती गरेर लाखौँलाख रुपैयाँ अब कमाउँछु ।

तीन महिनापछि फेरि वस्ती मद्रास गए र कागतीको (इयर लियरिङ) कलमी बिरुवा अर्डर गरे । मकै, तोरी र कोदो मात्र फल्ने उनको तीन बिघा खेतमा अहिले कागतीको जंगल नै छ । एक बोटमा उनले ८ सय दाना कागती फलाउन सक्ने तालिम लिएका छन् । वर्षमा चारपटकसम्म कागतीको बोटमा दाना लाग्छ । उनले भने, ‘मेरो तीन बिघा खेतमा ३२०० कागतीका बोट छन् ।’ एक बोटमा ८ सयका दरले वर्षमा २५ लाख ६० हजार दाना कागती फलाउने योजनामा उनी छन् । बजारमा एउटा कागतीको मूल्य खुद्रा ३ र थोक २ रुपैयाँ छ । वस्तीको बारीमा फलेका कागतीको मूल्यको हिसाब गर्दा उनी वार्षिक ५० लाख माथि आम्दानी गर्न सक्छन् ।

उनको बारीमा भएको कागतीको बोटले यस वर्षदेखि मात्र आम्दानी दिन थालेको छ । ‘यो वर्ष १२ लाख आम्दानी भयो’, उनले भने, ‘अबका तीन वर्षपछि वार्षिक ५० लाखभन्दा बढी आम्दानी गर्छु ।’ सुरुमा उनले २ कठ्ठामा मात्र कागती खेती गरेका थिए । जाँतेको हावापानी र माटो मद्रासको कागतीको बोटलाई सुहाउँदो भएपछि उनले धान बाली मासेर कागती खेती सुरु गरेका हुन् ।

वस्तीको कागती खेती देखेर स्थानीयबासी लोभिन थालेका छन् । जाँतेका किसान यतिबेला कागती खेतीमा उत्साहित हुन थालेका छन् । स्थानीय वीरझराईले वस्तीकै कागती बगैँचाबाट कलमी बिरुवा लगेर रोपेका छन् ।

पूर्ववडा अध्यक्ष समेेत रहेका वस्ती हिजोआज लेटाङका अधिकांश किसानलाई रुखो एवम् धान उत्पादन नहुने आकाशे पानीको भरका खेतमा कागती खेती गर्न सल्लाह दिन्छन् । उनले भने, ‘जीवन र परिवारको आर्थिक अवस्था सुधार्नु छ भने कागती खेती गर्नुपर्छ ।’

वस्तीको वारीमा करिब ३ हजार बोटले फल दिइरहेको छ । दैनिक २० हजार कागतीका दाना उनी बिक्रीका लागि उर्लाबारी, पथरी, बेलबारी, इटहरी, धरान, विराटनगर, इटहरीलगायत पूर्वका बजारमा पठाउँछन् ।

सरकारले सीमामा कडाई गरेर भारतबाट आयात हुने कागतीलाई रोक्ने हो भने स्वदेशी उत्पादनले नेपालमा राम्रो बजार पाउने उनका छोरा विवेकले बताए । उनले भने, ‘बजारमा विचौलियाको दादागिरी छ, वार्षिक ७० हजार मेट्रिकटन कागती भारतबाट नेपाल आइरहेको छ । सरकारले कागती खेतीका लागि प्याकेज ल्याएर किसानलाई उत्साहित बनाउने हो भने नेपाल कागतीमा आत्मनिर्भर हुनेमा दुविधा छैन ।’

उनको कागती खेती पूर्ण अर्ग्यानिक छ । बाख्राको बड्कौला मुख्य मलको रुपमा प्रयोग हुन्छ । लेटाङमा किसानले पालेका बाख्राको बड्कौला प्रतिटिन ५० रुपैयाँमा बिक्छ । वस्तीले बड्कौला किनेर मलको रुपमा लगाउनछन् । वस्तीले कागती बारीमा अदुवा पनि रोपेका छन् । त्यसबाट पनि उनले मनग्यै आम्दानी लिन्छन् । मौरीपालन पनि छ । मह बेचेर पनि आम्दानी नै गर्छन् । अब उनी बाख्रा पाल्ने योजनामा छन् ।

सरकारले नेपाली कृषिउपजलाई निर्वाध भारतीय बजारसम्म र्पुयाएर बेच्ने वातावरण मिलायो भने नेपाली किसानले पैसाका लागि खाडी मुलुक गएर पसिना बगाउनु नपर्ने उनले बताए । उनको कागती बगैँचामा नियमित २ जना र सिजनमा १५ जनासम्म कृषि मजदुर कार्यरत् हुन्छन् ।

Facebook Comments