पूर्वमै पहिलोपटक बिर्तामोडमा जाप्निज भाषा परीक्षा J-TEST सम्पन्न

बिर्तामोड, मंसिर ३ । पूर्वाञ्चलमा पहिलोपटक झापाको बिर्तामोडमा आइतबार जाप्निज भाषा परीक्षा जे-टेस्ट (J-Test) सम्पन्न भएको छ ।

पूर्वाञ्चल इक्यान तथा जापानसम्बन्धी काम गर्दै आएका विभिन्न कन्सल्टेन्सीको पहलमा बिर्तामोडमा भाषा परीक्षा जे-टेस्ट गराइएको हो । होटल हिकोला हेरिटेजको हलमा भएको परीक्षामा १०२ जना विद्यार्थीले भाषा परीक्षा दिएको पूर्वाञ्चल इक्यानका अध्यक्ष दिवाकरलाल चौधरीले बताए । परीक्षामा सुनसरी, मोरङ, इलाम, पाँचथर, ताप्लेजुङ लगायत जिल्लाबाट समेत परीक्षार्थी सहभागी भएका थिए ।

१ घण्टा ४५ मिनेटको परीक्षा बिहान ८ बजेबाट सुरु भएको थियो । परीक्षाको निरीक्षकका रुपमा भाषा परीक्षा जे-टेस्टका नेपाल प्रतिनिधि कृपानाथ श्रेष्ठ रहेका थिए । परीक्षा शान्तपूर्वक सम्पन्न भएको उनले बताए ।

आगामी परीक्षा २०१८ को जनवरीमा हुने बताइएको छ । जे-टेस्ट परीक्षा उत्तीर्ण भएपछि विद्यार्थीलाई जापान जान सहज हुनेछ ।

Facebook Comments