रुपन्देही बाहिरियो, मनाङ सेमिफाइनलमा

  • रमेश समदर्शी

झिलझिले, मंसिर ३ । अन्तिम एक मिनेट सम्हालिन नसक्दा झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपबाट रुपन्देही ११ बाहिरिएको छ ।

आइतबार भएको खेलमा १-० को स्थितिलाई उल्टाउँदै मनाङ मर्स्याङ्दी क्लबले रुपन्देहीमाथि टाइब्रेकरमा ४-१ गोलको जीत दर्ता र्गयो । गतवर्ष फाइनल खेलेको रुपन्देहीले खेल अवधिभर दबाब सिर्जना गर्दै जीतको संघारमा पुगे पनि अन्तिम एक मिनेट सम्हालिन नसक्दा यसपटक क्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

खेल सुरु भएको ६ मिनेटमै गोल गरेको रुपन्देहीसँग खेलको अन्तिम मिनेटमा मनाङले बराबरी र्गयो । ६ मिनेटमा रुपन्देहीका रजिन धिमालले प्रहार गरेको बल मनाङका गोलकिपर दिनेश थापामगरबाट रिबाउन्ड भएपछि अब्बाले गोलपोस्टको दिशा दिएका थिए । केही दिनअघि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका राष्ट्रिय कप्तान अनिल गुरुङको कप्तानीमा मैदान छिरेको मनाङले अपेक्षित खेल प्रदर्शन गर्न भने सकेन ।

१-० को स्थितिमा मनाङका डोना थापाले टिमलाई कम ब्याक गराएका थिए । ७९औँ मिनेटमा डिबक्स नजिक रुपन्देहीका सौरभ मगरको ह्याण्ड भएपछि डोनाले दोस्रो बारमा च्याप्दै गरेको फिकक गोलमा परिणत भएको थियो । रुपन्देहीका गोलकिपर दिलिप क्षेत्रीले अन्दाज गरे पनि गोल हुनबाट बचाउन सकेनन् । अन्तत: खेल टाइब्रेकरमा धकेलियो ।

टाइब्रेकरमा रुपन्देहीका निरज बस्नेतले गरेको प्रहारमात्र गोलमा परिणत भयो भने रजिन धिमालको प्रहार बाहिरियो । त्यस्तै, विजय धिमालको प्रहार मनाङका गोलकिपर दिनेशले बचाउ गरे । मनाङका लागि विमल बस्नेत, कमल श्रेष्ठ, निराजन मल्ल र डोना थापाको प्रहार गोलमा परिणत भएको थियो ।

मनाङका गोलकिपर दिनेशले रुपन्देहीको दुई वटा उत्कृष्ट प्रहार बचाएका थिए । खेलको १९औँ मिनेटमा रुपन्देहीका अब्बाले ड्रिब्बल गर्दै प्रहार गरेको बल र ६८औँ मिनेटमा रजिन धिमालले लङ रेञ्जबाट प्रहार गरेको बल दिनेशले बचाएका थिए ।

प्रतिस्पर्धात्मक खेलमा रुपन्देहीका ४ र मनाङका २ खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो । मनाङलेे जीतसँगै आयोजक सतासीधाम स्पोर्टिङ क्लबसँग दोस्रो सेमिफाइनलमा भेट पक्का गरेको छ । टिमलाई जीत नजिक र्पुयाएका मनाङका मिडफल्डर डोना थापा म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाउन सफल भए ।

सोमबारको पहिलो सेमिफाइनल खेल रमपम झापा ११ विरुद्ध त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिका प्रचारप्रसार संयोजक योगेन लावतीले जानकारी दिए । १० टिम सहभागी प्रतियोगिताको विजेता टिमले नगद ५ लाख र उपविजेता टिमले नगद २ लाख ५० हजारसहित ट्रफी पाउनेछ ।

Facebook Comments