झापा-३ मा ५० हजार बढी मतले जित्छु : लिङ्देन

भद्रपुर । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले विजय प्राप्त गरे तर राप्रपाको मत ह्वात्तै बढेर कांग्रेसको निकटतम् प्रतिद्वन्द्वीको हैसियत प्राप्त र्गयो । सिटौलाविरुद्ध झापा- ३ मा राप्रपाका नेता राजेन्द्र लिङ्देन उम्मेदवार बनेका थिए । सिटौलाले १४ हजार ३५५ मत ल्याउँदै सभासद् बने भने लिङ्देन दोस्रो भए ।

२०७० सालको निर्वाचनमा कांग्रेस नेता सिटौलासँग पराजित राप्रपा नेपालका महामन्त्री लिङ्देन मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापा-३ मा पुन: प्रतिस्पर्धा गर्दैछन् । केन्द्रमा राप्रपाले नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचन लडिरहँदा झापामा भने राप्रपा महामन्त्री लिङ्देन वाम गठबन्धनसँग तालमेल गरेर चुनाव लड्दैछन् । सबैले झापाको चुनावी गठबन्धनलाई चासोका रूपमा हेरिरहँदा नेता लिङ्देन भने यसलाई त्यति अचम्म मान्नु नपर्ने बताउँछन् ।

‘नेपाली कांग्रेसको कारणले राप्रपा-वाम गठबन्धन निर्माण भएको हो’, लिङ्देन भन्छन्न, ‘यसलाई मैले धोकाभन्दा पनि नेपाली कांग्रेसले आफ्नो खास रूप देखायो भन्ने अर्थमा बुझेको छु । जसले धोका, छलछामलाई राजनीति मानेको छ, त्यो उसले देखायो । तर राजनीति भनेको इमान्दारी हो ।’ जादू टुनामुना भएन भने ५० हजार मतले जित्ने उनले दाबी गरे ।

वामपन्थी गठबन्धनसँग आवद्ध भएका राजनीतिक दलहरू र राप्रपाले प्राप्त गरेको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा अहिले झापा-३ मा २५ हजार बढीको मतान्तरले यो गठबन्धन माथि छ । ‘हामी आफैँले बलियो पार्टीको रूपमा नेपाली कांग्रेसलाई जित्नका लागि तयारी गरिराखेको बेला जुन गठबन्धनको संस्कृति निर्माण भयो, यसले चुनाव जित्नका लागि झनै सहज स्थिति निर्माण भएको छ’, उनी भन्छन् । चुनावी गतिविधिमा आर्थिक चलखेल हुने गरेको संकेत गर्दै उनले जनता सचेत भइसकेकाले अबको चुनावमा आर्थिक चलखेलले काम नगर्ने बताए ।

Facebook Comments