आर्मी र मनाङको भेट पक्का

शिवसताक्षी । झापाको झिलझिलेमा जारी दोस्रो टुर्वोग सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबले जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ ।

उसले आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई एकका विरुद्ध दुई गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको चौथो मिनेटमा मनाङका विमल रानाले विशाल राईको पासलाई सदुपयोग गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रतालाई ६ मिनेटपछिका आयोजकका रेजिन सुब्बाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सुनिल बलको पासमा मनाङका गोलकिपर दिनेश थापा मगर अगाडि बढेको मौकामा भली गर्दै बललाई पोष्टको दिशा दिएका थिए ।

खेलको ४२ औँ मिनेटमा विशाल राईले गोल गर्दै मनाङलाई पुनः अग्रता दिलाएका थिए । रिबाउन्स बललाई विशालले जाली चुमाएका थिए ।
२४ औँ मिनेटमा आयोजकका विमल घर्ती मगरले दिएको क्रस बललाई सुमन लामाले गरेको सशक्त प्रहार मनाङको क्रस बारमा लागेर फर्किएको थियो । सो बललाई सुनिल बलले गरेको प्रहार बाहिरिएको थियो । ४० आँै मिनेटमा विशाल राईको फ्रिकिक गोलकिपर विशाल श्रेष्ठले पञ्च गरेर जोगाएका थिए ।

७८ औँ मिनेटमा आयोजकका रेजिन सुब्बाको प्रहार पोष्टको बायाँ साइडबाट बाहिरियो । ३९ औँ मिनेटमा सुजल श्रेष्ठको पासमा विमल रानाले गरेको प्रहार आयोजकका गोलकिपर श्रेष्ठले जोगाएका थिए । खेलको इन्ज्युरी समयमा रानाकै अर्को कडा प्रहार श्रेष्ठले पञ्च गरेर फर्कादिएका थिए ।
खेलको म्यान अफ द म्याच मनाङका विशाल राई भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उपाधिको लागि बिहीबार मनाङले त्रिभुवन आर्मी क्लबसँग फाइनल खेल खेल्नेछ । चिरपरिचित प्रतिद्वन्द्वी मनाङ र आर्मीबीचको जीतहार बराबरी रहेको छ । यस सिजनको सर्लाहीमा सम्पन्न राजश्री गोल्डकपको फाइनलमा मनाङले आर्मीमाथि एक शून्यको जीत निकालेको थियो ।

 

Facebook Comments