कतारमा शुक्रराजको निधन, ६५ वर्षीय बाबुको आँशुले गाउँ नै शोकमग्न

  • तेजन खड्का

उर्लाबारी मंसिर ५ । आठ महिनाअघि रोजगारका लागि कतारमा गएका टाँडी-४ मोरङका २६ वर्षीय शुक्रराज लावतीको मृत्यु भएको छ ।

ड्युटीबाट काम गरेर फर्किपछि सुतेका लिम्बू राति १२ बजे छट्पटाइरहेको अवस्थामा साथीभाइले फेला पारेका थिए । लावतीलाई उपचार गर्न अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको कतारबाट उनका साथी ललित लिम्बूले जानकारी टेलिफोनमार्फत् जानकारी गराए । उनले भने, ‘हृदयघातको कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । खास के हो स्वास्थ्य रिपोर्टपछि जानकारी हुन्छ ।’

विदेशमा गएर परिवारलाई सुखसँग पाल्ने सपना बोकेर गएका शुक्रराजको सपना टुटेको छ भने उनका परिवार यतिबेला छोराको यादमा छटपटाइरहेका छन् । ‘६ महिनाअघि घरबाट बिदाई गरेर विदेश कमाउन पठाएको छोराको हिजो मृत्युको खबर सुन्नुर्पयो’, बाबु पूर्णबहादुरले भने, ‘काम गाह्रो छ बुबा फर्किन्छु भन्दैथ्यो, एकैचोटि मरेको खबर आयो ।’

बाबु पूर्णबहादुरले आफ्नो छोराको शव घर फकाईदिएर सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । ‘म बुढो मान्छे के गर्ने कसो गर्ने हेक्का छैन’, ६५ वर्षीय पूर्णबहादुरले आँखाभरि आँशु पार्दै भने ।

पढाईमा अब्बल शुक्रराज घरको समस्याले उर्लाबारीको एक मेनपावरबाट विदेश भासिएका थिए । उनको निधनले यतिबेला गाउँ नै शोकमा डुबेको छ । उनको शव स्वदेश ल्याउन स्थानीय स्तरबाट पनि पहल कदमी भइरहेको टाँडी युवा क्लबका अध्यक्ष महेन्द्र थेगिमले बताए ।

आर्थिक उर्पाजन गर्न मिठो सपना बोकेर दैनिक रुपमा विदेश भासिने क्रम बढ्दो छ । त्योसँगै पलायन हुने युवामध्ये दैनिक सरदर चार जनाको मृत शरीर नेपाल आउने गरेको छ । यसअघि उर्लाबारी-९ दुर्गापुरीका दीपक लिम्बूको पनि कतारमा बिल्डिङबाट लडेर मृत्यु भएको थियो ।

Facebook Comments