शिवसताक्षीमा चितुवा आतंक, आक्रमणमा परी प्रहरीसहित ४ घाइते

विनोद सापकोटा

झिलझिले, मंसिर ६ । चितुवाको आक्रमणबाट झापामा १ प्रहरी हवल्दारसहित ४ जना घाइते भएका छन । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

जिल्लाको शिवसताक्षी नगरपालिका-५ भेलामुनि स्थित धानबारीमा लुकेर बसेको चितुवाले बुधबार अपरान्ह साढे ४ बजेतिर गाउँलेलाई आक्रमण गरेको थियो । गाउँलेले धानबारीमा चितुवा लुकेको देखेपछि डरले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबर पाएलगत्तै गएको इलाका प्रहरी कार्यालय शिवगञ्जको प्रहरी टोलीका एक सदस्य चितुवा आक्रमणमा परी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक तिलक राईका अनुसार प्रहरी हवल्दार युवराज थापा चितुवाको आक्रमणबाट घाइते भएका हुन । उनलाई उपचारका लागि दमकतर्फ लगिएको छ ।

घाइते हुनेमा शिवसताक्षी-५ भेलामुनीका गीता खरेल शिवाकोटी, बुद्धसिंह ताजपुरिया, ६ नम्बरका देवलाल राजवंशी छन् । चितुवाले आक्रमण गरेर घाइते बनाएपछि स्थानीय प्रशासनले माइकिङ्ग गरी स्थानीयबासीलाई सजग रहन आग्रह गरेको छ । प्रसासनले घरवाहिर ननिस्कन र चितुवालाई नलखेट्न स्थानियलाई आग्रह गरेको हो । जिल्ला वन कार्यालय झापाको टोली घटनास्थल आएपछि मात्र के गर्ने भन्ने विषयमा जानकारी हुने प्रहरीले जनाएको छ ।

Facebook Comments