होटल व्यवसायमा जम्दै नेत्र

१७ वर्षअघि वैदेशिक रोजगारका लागि खाडी मुलुक पुगेका पाँचथरे एक युवालाई आफै मुलुकमा केही गर्ने सोच आयो । विदेशमा जत्तिकै श्रम नेपालमा गर्ने हो भने धेरै आम्दानी गर्न सकिने बुझा पाँचथर अमरपुरका नेत्र न्यौपाने व्यवसाय गर्न झापा झरे । झापाको बिर्तामोडमा पुजन होटल सञ्चालनमा ल्याउँदा सुरुका दिनमा केही आप्ठ्याराहरु पनि आए । तर, उनी आत्तिएनन् । ‘सुरुमै योजना बनाएकाले समस्या हल हुँदै गए’ ४० वर्षीय न्यौपानेले भने, ‘अहिले बिर्तामोडको सफल होटल व्यवसायीमा दरिएको छु ।’

सेकुवा, खाजा सेट र खानाका लागि पुजन होटलमा मानिसको जतिबेलै घुइँचो हुन्छ । पुजन होटलको सफलतापछि न्यौपानेले अलि फरक खालको होटल खोल्ने योजना बनाए । त्यसैको प्रतिफल हो, भद्रपुररोडमा रहेको ३६५ क्याफ। खासगरी युवापुस्ता र कर्पोरेट हाउस अनि व्यवसायीलाई लक्षित गरी एक वर्षअघि सञ्चालनमा आएको ३६५ क्याफसबै प्रकारका परिकारका लागि प्रसिद्ध रहेको उनले सुनाए । थकाली खाना, ३६५ स्पेसल, मटन, चिकन र फिसका विभिन्न परिकारका साथै चाइनिज, कन्टिनेन्टल र इन्डियन खानाहरु ३६५ क्याफेमा उपलब्ध छन् ।

सुविधासम्पन्न सो क्याफेमा एसी रेस्टुरेन्ट, रुफ टप रेस्टुरेन्ट र फामेली क्याबिनहरु उपलब्ध छन् । ‘३६५ क्याफे विशुद्ध पारिवारिक स्थल हो’, न्यौपानेले भने, घरकै वातावरणमा मिठो र स्वस्थकर परिकारका लागि हामी तयार छौँ ।’ बिर्तामोडमा तीन फरकफरक होटल सञ्चालन गर्दै आएका उनले शनिश्चरेरोडमा बाजेको सेकुवा कर्नर पनि विगत एक वर्षदेखि सञ्चालन गरिरहेका छन् । खसीको सेकुवाका पारखीका लागि सो सेकुवा कर्नर हरदम तयार रहेको न्यौपानेले बताए ।

बिर्तामोडका विभिन्न वित्तीय संस्था, स्थानीय व्यवसायी र सामाजिक संघसंस्थाका मानिसको पहिलो रोजाइमा ३६५ क्याफे र बाजेको सेकुवा कर्नर रहेको उनको भनाइ छ । ‘हामीले प्रदान गर्ने सुविधा, शान्त वातावरण र स्वादका कारण पहिलो रोजाइ बनेको हुनुपर्छ’, उनले भने, ‘आगामी दिनमा अझ बढी सेवासुविधा बढाउने योजनामा छाँै ।’

सेवामुलक पेसा र पर्यटन प्रबर्द्धन हुने भएकाले होटल व्यवसाय रोजेको उनले बताए । ‘झापाबाहिरबाट आउनेलाई स्वादिलो र सफा खानेकुरा खुवाउने हाम्रो उद्देश्य हो’, उनले भने, ‘बिर्तामोडमा यस्तो मिठो चिज पनि पाइँदो रहेछ भनेर सबैलाई थाहा होस् न ।’ उनी चाँडै नै विशुद्ध अर्गानिक परिकार उपलब्ध गराउने तयारीमा पनि छन् । घरमा खाना खान वाक्क लागेका बेला स्वाद फेरौँ भनेर वा समय नभएका बेला उनी ३६५ क्याफेमा आउन उपभोक्तालाई आग्रह गर्छन् ।

न्यौपानेले तीनवटा होटलमा २० जनालाई रोजगारी पनि दिएका छन् । कुक, वेटर र सहयोगीहरु ग्राहकको सेवामा दत्तचित्त भएर लागेको उनको भनाइ छ । होटलका साथसाथै उनी अन्य व्यवसायमा पनि आवद्ध छन् । सम्पन्न साकोसका उपाध्यक्ष रहेका उनी सूर्योदय साकोस र सूर्योदय यातायात प्रालिका सञ्चालक सदस्य पनि हुन् । यही मंसिरभित्र सञ्चालनको तयारीमा रहेको सूर्योदयका बसहरु सुविधासम्पन्न र स्मार्ट हुने न्यौपानेले जानकारी दिए । न्यौपानेलाई उनकी पत्नी पुजन अधिकारी न्यौपानेको दह्रिलो साथ छ । पुजन होटलको व्यवस्थापन उनले हेर्छिन् भने ३६५ क्याफे र बाजेको सेकुवा कर्नर नेत्र आफ र भाइ नारायणले सम्हाल्दै आएका छन् ।

Facebook Comments