आज सताक्षी गोल्डकपको फाइनल : आर्मी र मनाङ भिड्दै

झिलझिले, मंसिर ७ । झापाको झिलझिलेमा जारी दोस्रो सताक्षी गोल्डकपमा उपाधिका लागि पाहुना टोली त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङ्दी बिहीबार आमनेसामने हुँदैछन् ।

दुवै टोलीले उपाधिको दाबेदार भएको बुधबार भएको प्रिम्याच कन्फरेन्समा दाबी गरे । टिमका कप्तानहरुले उपाधिका लागि रेफको अन्तिम ह्वीसल नबजुन्जेलसम्म जीतका लागि मेह‌नतका साथ खेल्ने बताए ।

मनाङका कप्तान अनिल गुरुङ र आर्मीका कप्तान भरत खवासले निर्धारित समयभित्रै जीत निकाल्नका लागि खेल्ने बताए । तर, जीतको सम्भावना ५०-५० प्रतिशत रहेको उनीहरुको भनाइ थियो । मनाङका कप्तान गुरुङले भने, ‘आर्मी आफैँमा सेट टिम हो, हामी पनि आफ्नो लयमा खेल्ने कोशिस गर्नेछौँ ।’

उनले काठमाडाँैमा लिगहरु नभइरेहेको बेला झापामा भएका यस्ा प्रकारका खेलले खेडालीलाई फिट राख्न मद्दत पुगेको पनि बताए । ‘आर्मीको टिम फिजिकल र टेक्निकल दुवैमा लयमा देखिएको छ, हामी पनि सुरुदेखि नै आक्रामक तरिकाले खेल्छौँ’, मनाङका कप्तान अनिलले भने ।

आर्मीका कप्तान भरतले समेत उपाधिको लक्ष्य भए पनि दुवै टिममा राष्ट्रिय खेलाडी सम्मिलित भएकाले दुवैको सम्भावना बराबरी भएको प्रतिक्रिया दिए । ‘भाइटल म्याचमा १-२ वटा अवरि पाउने हो, जसले किक गर्न सक्यो उही विजयी हुने हो’, उनले भने, ‘हामी अवसरलाई भरपूर सदुपयोगको प्रयासमा रहनेछौँ ।’

मनाङका टिम कोच विजय घलेले आयोजकले मैदान व्यवस्थापनमा धेरै मिहेनत गरेको भन्दै प्रतियोगिताले देशकै खेल विकासमा योगदान गर्ने बताए । उनले आर्मीसँग पछिल्लो भेट सर्लाहीमा भएको जसमा मनाङ १-० गोलले विजयी बनेको भन्दै जीतको निरन्तरतालाई कायम राख्न खेलाडीहरुले सक्दो मिहेनत गर्ने बताए । इन्जुरीका कारण पहिलो म्याच गुमाएका सुजल श्रेष्ठसमेत उत्कृष्ट फर्ममा रहेकाले यसको फाइदा उठाउने उनको भनाइ थियो ।

आर्मीका कोच नविन न्यौपानेले अघिल्लो वर्षको गोल्डकपमा मनाङसँग ४ पटक भेट हँुदा २ मा जीत निकाले बताउँदै यस पटक आर्मी विजयी भएर मनाङलाई उछिन्ने दावी गरे ।

आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबमाथि २-१ ग्ाोल अन्तरको संघर्षपूर्ण जीत निकाल्दै मनाङ फाइनलमा प्रवेश गरेको थियो भने आर्मीले घरेलु टिम रमपम झापा ११ लाई ३-० गोलले हराउँदै फाइनलको स्थान पक्का गरेको थियो ।

सताक्षीधाम स्पोर्टिङङ्ग क्लबको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजारसहित ट्रफी पाउनेछ ।

Facebook Comments