मनाङको कठिन जीतमा दिनेश बने ‘हिरो’

काँकरभिट्टा । अग्नि रुपन्देही ११ विरुद्धको खेलमा मनाङ मर्स्याङ्दी क्लबले कठिन जीत निकाल्दा गोलकिपर दिनेश थापामगर हिरो बने ।
काँकरभिट्टामा जारी मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा शनिबार मनाङले ७-६ गोलको नतिजामा जीत दर्ता र्गयो । सडन डेथमा गोलकिपर दिनेश थापाले एउटा प्रहार बचाउ गरेसँगै मनाङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल सोझै टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टोलीका खेलाडीले समान ५-५ गोल गरेपछि निर्णय सडन डेथबाट लिइएको थियो । सडन डेथमा रुपन्देहीका सौरभ मगरको प्रहार गोलकिपर दिनेशले बचाएका थिए । दिनेश म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार पाउन सफल भए ।

मनाङका लागि विमल राना र विक्रम लिम्बूको प्रहार गोलमा परिणत भएको थियो भने रुपन्देहीका दिलिप क्षेत्रीले मात्र गोल गर्न सफल भएका थिए । यसअघिको टाइब्रेकरमा मनाङका विमल बस्नेत, सुजल श्रेष्ठ, हेमन गुरुङ, अनिल गुरुङ र डोना थापाले गोल गरे । त्यस्तै, रुपन्देहीका रजिन धिमाल, विजय धिमाल, निरज बस्नेत, रुपेश केसी र दिपक राईले गोल गरेर बराबरी गरेका थिए ।

एक साताभित्र रुपन्देहीले मनाङसँग हार व्यहोरेको यो दोस्रो पटक हो । यसअघि सताक्षी गोल्डकपमा पनि मनाङसँगै टाइब्रेकरमा ४-१ गोल अन्तरमा रुपन्देहीले हार व्यहोरेको थियो ।

काँकरभिट्टामा खेलेको ११औँ मिनेटमा रुपन्देहीका रजिन धिमालको क्रसमा विदेशी खेलाडी अवाले गोल गर्न सकेनन् । १२औँ मिनेटमा मनाङका विमल घर्ती मगरले हानेको हेडरले जाली चुमे पनि अफसाइड भएका कारण स्कोर हुन सकेन । ४१औँ मिनेटमा मनाङका विशाल राईले हानेको प्रहारले पनि गोलपोष्टको दिशा लिन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

काउन्टर अट्याकको तुलना गर्दा रुपन्देहीले बढी प्रहार गर्न सफल भयो । ५०-५० प्रतिशतको खेलमा बल पोजिसन पनि रुपन्देहीले नै हेण्डल गरेको थियो । आठ जना नेपाल इन्टरनेशनल खेलाडीलाई मैदानमा उतारे पनि अपेक्षित स्कोर र खेल पस्कन भने मनाङ असफल रह्यो । नियमित खेलाडीबाहेक अनन्त तामाङ र विमल घर्ती मगर पनि यसपटक मनाङको जर्सीमा थिए ।

खेलको ५०औँ मिनेटमा मनाङका स्ट्राइकर विमल घर्तीमगरले गरेको प्रहारमा विपक्षी गोलरक्षक दिलिप क्षेत्री बाधक बने । सुजल श्रेष्ठ, अनिल गुरुङ, हेमन गुरुङ, विशाल राई, अनन्त तामाङले हानेको प्रहार गोलमा परिणत हुन नसक्दा मनाङले निर्धारित समयमा कुनै पनि स्कोर गर्न सकेन ।

रुपन्देहीका विदेशी खेलाडी अवाले पाएका थुप्रै अवसर पनि खेर गए । रजिन धिमाल, विजय धिमाल र सौरभ मगरको प्रहार पनि खेर गएपछि रुपन्देहीको सेमिफाइनल यात्रा लगभग समाप्त भएको थियो । उनीहरुका हरेक प्रहारमा मनाङका डिफेन्स अनन्त तामाङ, सुजल श्रेष्ठ र गोलरक्षक दिनेश थापा बाधक बने ।

आइतबारको खेल सुदूरपश्चिम ११ र त्रिभुवन आर्मी क्लबबीच हुने आयोजक समितिले जनाएको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा भएको प्रतियोगिताका विजेता टिमले नगद ८ लाख १ हजार र उपविजेता टिमले नगद ४ लाख १ हजारसहित ट्रर्फी र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मिनबहादुर बस्नेतले बताए ।

Facebook Comments