मनाङलाई हराउँदै आर्मी बन्यो च्याम्पियन

काँकरभिट्टा, मंसिर १५ । आर्मीका गोलकिपर विकेश कुथुले मनाङका ३ खेलाडीको पेनाल्टी प्रहार रोकेपछि चिरपरिचित प्रतिद्वन्द्वी टिम मनाङलाई टाइब्रेकरमा पराजित गर्दै काँकरभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको च्याम्पियन बनेको छ ।

आर्मीले उपाधिसगै नगद ८ लाख रुपैयाँ समेत हात पारेको छ । शुक्रबार भएको खेलमा दुवै टिमको कुनै गोल हुन नसकेपछि खेलको निर्णय सोझै टाईब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा मनाङका ३ खेलाडीहरु कप्तान अनिल गुरुङ, कमल श्रेष्ठ र निराजन मल्लको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल तुल्याएका थिए । मनाङका २ खेलाडीहरु विमल बस्नेत र हेमन गुरुङको प्रहार मात्रै गोलमा परिणत भएको थियो । आर्मीका खेलाडीहरु सन्तोस तामाङ, नवयुग श्रेष्ठ र विवेक बस्नेतको प्रहार गोलमा परिणत हुँदा आर्मीका २ खेलाडीहरु जितेन्द्र कार्कीको प्रहार गोल पोष्टबाहिर गयो भने पदम तामाङको प्रहार मनाङका गोलकिपर दिनेश थापामगरले रोकेका थिए ।

आर्मीको समर्थनमा ब्यान्ड बजाउँदै दर्शक ।

टाइब्रेकरमा आर्मी ३—२ गोल अन्तरले विजयी भएको हो । उपविजयी भएको मनाङले नगद ४ लाख रुपैयाँसहित शिल्ड ट्रर्फी र मेडल प्राप्त गरेका थिए । आर्मीको यो जीतसँगै लगातार ३ वटा गोल्डकपमा विजयी हँुदै आर्मीले ह्याट्रिक गर्न सफल बनेको छ । आर्मीले वीरगञ्ज तथा गत हप्ता मात्रै झापाकै सताक्षी गोल्डकपमा च्याम्पियन भएको थियो । सताक्षी गोल्डकपको फाइनलमा समेत मनाङ र आर्मी आमनेसामने भएको थियो । मनाङ काँकरभिट्टा गोल्डकपमा आर्मीलाई हराएर सताक्षी गोल्डकपको हारको बदला लिने तयारीका साथ मैदान उत्रिएको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच आर्मीका विकास खवासलाई नगद १० हजार प्रदान गरेका थिए । यसैगरी प्रतियोगिता भरकै नवप्रतिभावान खेलाडी आयोजक काँकरभिट्टा फबल ट्रेनिङ सेन्टरका मिलन राईलाई नगद १० हजार प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट प्रशिक्षक आर्मीका नविन न्यौपाने, उत्कृष्ट डिफेन्स काँकरभिट्टाका दिपेन राई, उत्कृष्ट मिड फिल्ड मनाङका विशाल राई बी, उत्कृष्ट स्ट्राइकर आर्मीका भरत खवासलाई नगद २० हजार प्रदान गरिएको थियो । त्यसैगरी सर्वाधिक गोलकर्तामा आर्मीका दिनेश हेम्जनलाई नगद २५ हजार प्रदान गरिएको थियो ।

गोलनेपाल डटकमबाट लाइभमा कमेन्ट्री गर्दै सचिन सुब्बा र क्यामेरामा रमेश समदर्शी ।

गोल्डकपकै सर्वोकृष्ट खेलाडीमा मनाङका गोलकिपर दिनेश थापामगरलाई नगद ५१ हजार प्रदान गरिएको थियो । प्रतियोगिताका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट लगायतका अतिथिले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

Facebook Comments