बिर्तामोडमा सुरु भयो बी एन नुडल्स उद्योग

बिर्तामोड, मंसिर १७ । बिर्तामोडमा आइतबारदेखि बी एन नुडल्स उद्योग सञ्चालनमा आएको छ । उद्योगको औपचारिक उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले गरेका छन् ।

उद्योगको उत्पादन मंसिर महिनाबाटै बजारमा आउने उद्योगका म्यानेजिङ डाइरेक्टर विशाल अग्रवालले जानकारी दिए । हाल मासिक एक हजार कार्टुन स्टिक नुडल्स (थुप्पा) उत्पादन गर्ने र ६ महिनाभित्र मासिक ५ हजार कार्टुन उत्पादन गर्ने लक्ष्यसाथ काम सुरु गरिएको अग्रवालले बताए ।

उनले उद्योगको सुरुवातसँगै ‘फुड फ्याक्ट्री प्रोजेक्ट’लाई समेत सञ्चालनमा ल्याएका छन् । उद्योगबाट उत्पादित हरेक प्याकेटको बिक्रीबाट २ रुपैयाँ बचत गरी सो रकम सामाजिक क्षेत्रमा खाद्यसामग्री खरिद गरी दान गरिने उनले बताए । विभिन्न अनाथ आश्रम, बालआश्रम, गरिबीबाट खाद्यान्न जुटाउन नसक्ने परिवारलाई खाद्य सामग्री प्रदान गर्न सो प्राजेक्ट सुरु गरिएको उनले सुनाए ।

१२ लाखको लागतमा सुरु भएको बी एन नुडल्सको डाइरेक्टरमा निकेश लिम्बू छन् । २ वटा मेसिन राखेर सुरु भएको उद्योगमा हाल ७ जनाले रोजगारी पाएका छन् ।

उद्योगको उद्घाटन कार्यक्रममा बोल्दै जिसस अध्यक्ष पोर्तेलले अहिलेको समय काम गर्ने युवाको समय भएकाले उनीहरुलाई उद्यमशील बन्न राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताए । पत्रकार महासंघका सचिव सन्तोष आचार्यले उत्पादनशील कार्यक्रमभन्दा भाषणबाज कार्यक्रममा जनप्रतिनिधिको आकर्षण हुनु दु:खद् भएको बताए । उनले विकास र समृद्धि उत्पादनसँग जोडिएकाले यस्ता कार्यमा सबैको चासो हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णप्रसाद कोइराला डिएसपी, ट्राफिक प्रमुख राजेश राई, व्यवसायी सुवास भट्टराई लगायतको उपस्थिति रहेको थियो । उद्योगका सल्लाहकार प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रनित पुडासैनीले गरेका थिए ।

Facebook Comments