एक्सेलको १९ औँ शाखा उर्लाबारीमा

उर्लाबारी, मंसिर १८ । मोरङको उर्लाबारीमा सोमबारदेखि १९ औँ शाखाको रुपमा एक्सेल डेभलपमेन्ट बैँक लिमिटेडले आफ्नो कारोबार औपचारिक रुपमा सुरु गरेको छ ।

बैंकको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो र बैंकका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरेका थिए । उद्घाटनपछि नगर प्रमुख फागोले एक्सेल बैंकले उर्लाबारीमा अन्य बैंकको भन्दा पृथक ढङ्गले सेवा दिनुपर्नेमा जोड दिए । सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा दिन आग्रह गर्दै उनले बैंकको सफलता कामना गरे । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई, बैँकका संस्थापक अध्यक्ष चेतप्रसाद भट्टराई लगायतले बोलेका थिए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोख्रेलले बैंकले गत आर्थिक वर्षमा साढे २२ करोड रुपैयाँ नाफा शेयर धनीहरुलाई वितरण गरेको बताए । बैँकले हाल ४ अर्ब बढी ऋण लगानी गरेको बताउँदै उनले ६५ हजारभन्दा बढी निक्षेपकर्ता रहेको र ६ हजारभन्दा बढीलाई कर्जा लगानी गरिरहेको जानकारी दिए । झापा, मोरङ र इलाम जिल्ला कार्यक्षेत्र रहेको सो बैंकको केन्द्रीय कार्यालय बिर्तामोडमा रहेको छ ।

Facebook Comments